काठमाडौं । क्रिकेटर सन्दीप लामिछानेको मुद्दाको सुनुवाई आज हुँदैछ ।
मुद्दा सुनुवाईका लागि उच्च अदालतका न्यायाधीशद्वय सुदर्शनदेव भट्ट र अञ्जु उप्रेती ढकालको इजलासमा पेशी परेको छ ।
गत वैशाख २३ गते लामिछानेको मुद्दा उच्च अदालत पाटनका मुख्य न्यायाधीश नृपध्वज निरौला र दुर्गाप्रसाद ढुङ्गेलको संयुक्त इजलासमा सुनुवाइका लागि परेको भए पनि मुद्दा हेर्न नमिल्ने सूचीमा परेको थियो।
मुद्दा हेर्न नमिल्ने सूचीमा परेसँगै आजका लागि पेशी तोकिएको हो।
२०८० पुस २५ गते जिल्ला अदालत काठमाडौंले नाबालिग जबर्जस्ती करणी मुद्दामा उनलाई दोषी ठहर गर्दै आठ वर्ष कैद र तीन लाख रुपैयाँ जरिवाना तथा २ लाख रुपैयाँ क्षतिपूर्तिको फैसला सुनाएको थियो ।
उक्त फैसला बदर हुनुपर्ने मागसहित लामिछानेले उच्च अदालतमा पुनरावेदन गरेका छन् भने पिडित गौशाला २६ ले पनि कम सजाय भएकाले बढी सजाय हुनुपर्ने माग गर्दै पुनरावेदन गरेकी हुन् ।
सुनुवाइका क्रममा अब देवानी तथा फौजदारी कानुनका विज्ञ वरिष्ठ अधिवक्ता रामनारायण बिडारीले पनि सन्दीपका पक्षमा बहस गर्ने भएका छन्।
सन्दीपले सफाइ पाएमा टी २० विश्वकप खेल्न बाटो खुल्ने छ ।