काठमाडौं। प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई भेट्न नेपाली कांग्रेसका शीर्ष नेताहरु प्रधानमन्त्रीको सरकारी निवास बालुवाटार पुगेका छन् ।
प्रधानमन्त्रीको निमन्त्रणामा आज बिहानै महामन्त्री गगन थापा, प्रमुख सचेतक रमेश लेखक लगायतका नेताहरु बालुवाटारस्थित प्रधानमन्त्री निवास पुगेका छन् ।
आज संसदमा सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गर्नुपर्ने भएकाले गतिरोध अन्त्यको प्रयासमा प्रधानमन्त्री प्रचण्ड छन् ।
सहकारीको रकम अपचलनमा उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेको संलग्नताबारे छानबिनका लागि संसदीय समिति गठन गर्नुपर्ने माग गर्दै प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले संसद अवरुद्ध गर्दै आएको छ ।
राष्ट्रपतिले सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गर्दा पनि अवरोध हुनसक्ने चेतावनी कांग्रेसले दिएको छ । यसै अवरोध हटाउन प्रधानमन्त्रीले सक्रियता बढाएका छन् ।