काठमाडौं । सभामुख देवराज घिमिरेले सरकारको नीति तथा कार्यक्रमको विषयमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग छलफल गरेका छन् ।
सोमबार बिहान सभामुख घिमिरेले टेलिफोन गरेर प्रधानमन्त्रीसँग नीति तथा कार्यक्रमको विषयमा छलफल गरेको सभामुखको सचिवालयले जनाएको छ ।
उनीहरूबीच राजनीतिक सहमतिका लागि प्रधानमन्त्रीबाट भएका प्रयास र संसद्को तयारीबारे छलफल भएको छ । सो क्रममा प्रधानमन्त्री प्रचण्डले राजनीतिक सहमतिका लागि प्रमुख प्रतिपक्षी दलसँग छलफल भएको जानकारी सभामुख घिमिरेलाई गराएका छन् ।
प्रधानमन्त्री प्रचण्डले सत्तारूढ दलहरूसँग पनि विपक्षीका मागबारे छलफल भएको र सोमबार साँझसम्म निष्कर्षमा पुगिने जानकारी गराएको छन् । प्रधानमन्त्री प्रचण्डले आफू चितवनबाट फर्केलगत्तै संवाद सुरू गर्ने बताए । उनले राष्ट्रपतिसँग भएको छलफलबारे पनि सभामुखलाई जानकारी गराएका छन् ।
सहकारीको रकम अपचलन गरेको विषयमा उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेमाथि छानबिन गर्न संसदीय छानबिन समिति गठनको माग राखेर प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले सदन अवरुद्ध गर्दै आएको छ ।
सभामुखले हिजो कानुन, न्याय तथा संसदीय मामिला मन्त्रीसहित प्रमुख दलका मुख्य सचेतक तथा प्रमुख सचेतकसँग छलफल गरेका थिए । उनले नीति तथा कार्यक्रम र बजेटमा राजनीति नगरी सहमति गनुपर्नेमा जोड दिए ।