विराटनगर । नेकपा एकीकृत समाजवादीले पनि कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीलाई विश्वासको मत दिने भएको छ । मुख्यमन्त्री कार्कीले सोमबार विश्वासको मत लिँदै छन् ।
यसअघि केन्द्र सरकारमा रहेको सत्तारुढ दल एकीकृत समाजवादीले मुख्यमन्त्री कार्कीलाई विश्वासको मत नदिने भन्ने समाचार बाहिरिएका थिए । नयाँ सरकार गठनको प्रक्रियामा सामेल नगराइएको भन्दै असन्तुष्ट रहेका एकीकृत समाजवादी संसदीय दलका नेता तथा पूर्व मुख्यमन्त्री राजेन्द्र राईले मुख्यमन्त्री कार्कीलाई आफ्नो पार्टीले विश्वासको मत दिने बताए ।
प्रदेश सभाको सोमबार बिहान ११ बजे बस्ने बैठकमा मुख्यमन्त्री कार्कीले विश्वास मतको प्रस्ताव राख्न लागेका हुन्।
कार्की नेकपा (एमाले) संसदीय दल नेता हुन्।
उनलाई एमालेसहित नेकपा (माओवादी केन्द्र), नेकपा (एकीकृत समाजवादी) र जनता समाजवादी पार्टी नेपालकी सांसदले विश्वास मत दिने भएका छन्।
यहाँ एमालेका ४०, माओवादीका १३, एकीकृत समाजवादीका चार र जसपा नेपालका एक सांसद छन्। मुख्यमन्त्रीलाई विश्वासको मतका लागि ४७ जना सांसद भए पुग्छ।
यहाँ नेपाली कांग्रेसले मुख्यमन्त्रीलाई विश्वासको मत नदिने भएको छ।