शुक्रबार, कार्तिक १३ २०८३

शुक्रबार, कार्तिक १३ २०८३

‘महाजात्रा’ ले मनायो ५१ औं दिन

आइतबार, बैशाख ३० २०८१

काठमाडौं । चलचित्र ‘महाजात्रा’ प्रदर्शनको आठौं सातामा प्रवेश गरेको छ ।

षट्कोण आर्ट्सबाट निर्मित अघिल्ला चलचित्र जस्तै यसले पनि ५१औं दिनको यात्रा पार गरेको हो ।

अन्तर्राष्ट्रिय बजारमा सर्वाधिक कमाइ गर्ने नेपाली चलचित्र बनेको ‘महाजात्रा’ले शनिबार काठमाडौं उपत्यकाका क्युएफएक्स, आइएनआई सिनेमाज, एफक्युब सिनेमाज, वान सिनेमाज, बिएसआर मुभिज, रञ्जना सिनेप्लेक्स, सिके सिनेमाज, विग मुभिज र मोफसलमा नेपालगञ्जमा रहेको सिनेरोयलमा ५१औं दिनको यात्रा पार गरेको छ ।

शनिबार चलचित्रको ५१ दिने कार्यक्रम आयोजना गर्दै सफलताको केक काटिएको थियो । काठमाडौंको सुनधारास्थित सिभिल मलको क्यूएएक्स सिनेमामा पत्रकारहरूलाई साक्षी राख्दै चलचित्रको टिमले खुशी साटेको हो ।

यस चलचित्रका अभिनेता हरिवंश आचार्यले यो चलचित्र ५१ दिनसम्म पुग्नु नेपाली चलचित्रको सफलता रहेको बताए । ‘अहिले नेपाली चलचित्रको माहौल नै राम्रो बनिरहेको छ । नेपालमा नेपाली चलचित्रप्रतिको माया बढिरहेको छ’, उहाँले भन्नुभयो ।

अभिनेता दिव्य देवले आफ्नो करियरको सबैभन्दा सफल चलचित्र बनेकोमा दर्शकलाई धन्यवाद दिनुभयो । अर्का अभिनेता रवीन्द्र झाले पनि दर्शकलाई धन्यवाद दिए ।

निर्देशक प्रदीप भट्टराई, अभिनेत्री वर्षा राउत र अभिनेता रवीन्द्र सिंह बानियाँ भने नेपालबाहिर रहेका कारण उपस्थित थिएनन् ।

प्रदीप भट्टराईको लेखन तथा निर्देशनमा तयार भएको चलचित्रमा हरिवंश आचार्य, वर्षा राउत, दिव्य देव, अर्जुनजंग शाही, प्रकाश घिमिरे, राजाराम पौडेल, प्रवीण खतिवडा, सुमन कार्की, शिशिर बाङ्देल, गौमाया गुरुङ, अरविन खड्कालगायतको अभिनय छ ।