काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नेपाली कांग्रेस लोकतान्त्रिक पार्टी नभएको टिप्पणी गर्नुभएको छ ।
शनिबार नेकपा एमालेको काठमाडौं महानगर कमिटीको अधिवेशन उद्घाटन गर्दै उहाँले कांग्रेस सत्ता स्वार्थमा डुबेको पार्टी भएको आरोप लगाएका छन् । ‘नेपाली कांग्रेस आफू लोकतान्त्रिक शक्ति, होइन, सत्ता स्वार्थमा चुर्लुम्म भएको शक्ति हो’, उनले भने । कांग्रेसले संसद्मा उपप्रधानमन्त्री तथा गृहमन्त्री रवि लामिछानेलाई बोल्न नदिएको विषय उठाउँदै ओलीले आफू आरोप लगाउने तर आरोपको खण्डन गर्न नदिनु लोकतन्त्र नभएको बताउनुभयो । ‘कांग्रेस संसद् चल्न दिन्नँ भन्छ किन ? आफू बोल्छ, अरूलाई आरोप लगाउँछ, आरोपित मान्छेले बोल्छु भन्दा बोल्न दिँदैन । आरोपलाई खण्डन गर्छु भन्दा दिँदैन, यस्तो लोकतन्त्र हुन्छ कहीँ ?’, ओलीले प्रश्न गरे ।
कांग्रेसले सहकारी ठगी प्रकरणमा गृहमन्त्री रवि लामिछानेमाथि संसदीय छानविन गर्न माग गरेको छ । संसदीय छानविन नभएसम्म संसद् अवरोध गर्ने र गृहमन्त्रीलाई संसद्मा बोल्न नदिने अडान लिएको छ । उनले अहिलेको सत्ता गठबन्धन बन्न नदिने कोसिस भएको र अहिले बनिसकेपछि अटाउन कोसिस भइरहेको टिप्पणी गरे ।
ओलीले काठमाडौंको १० वटा प्रतिनिधिसभा निर्वाचन क्षेत्रमध्ये एउटामा मात्र जित हासिल भएको भन्दै यो एमालेका लागि नसुहाउने बताए । उनले आगामी निर्वाचनसम्म यो अवस्थालाई बदल्न नेता कार्यकर्तालाई निर्देशन दिए।
अध्यक्ष ओलीले काँग्रेसले जथाभावी गर्न थालेको उल्लेख गर्दै त्यसलाई सच्याउन पनि एमाले मुलुकको निर्णायक राष्ट्रिय शक्ति बन्नुको विकल्प नभएको बताए ।
४ मंसिर २०७९ मा भएको प्रतिनिधिसभा निर्वाचनमा काठमाडौंका १० क्षेत्रका एमाले उम्मेदवारमध्ये क्षेत्र नं ९ मा कृष्णगोपाल श्रेष्ठ मात्र निर्वाचित भएका थिउ ।