काठमाडौं । १७औँ संस्करणको इन्डियन प्रिमियर लिग (आईपीएल) टी–२० क्रिकेट प्रतियोगितामा आज गुजरात टाइटन्सले बलियो प्रतिद्वन्द्वी चेन्नई सुपर किङ्सको सामना गर्दैछ । खेल अहमदाबादस्थित नरेन्द्र मोदी स्टेडियममा राति ७ः४५ बजे सुरु हुनेछ ।
इन्डियन प्रिमियर लिगको अघिल्लो सिजनको फाइनल खेल पनि चेन्नई सुपर किङ्स र गुजरात टाइटन्सबिच नै खेलिएको थियो । त्यो खेल पनि नरेन्द्र मोदी स्टेडियममै खेलिएको थियो । त्यो खेलमा चेन्नईले गुजरातलाई ‘डकवर्थ एन्ड लुइस’ नियमका आधारमा पाँच विकेटले हराएको थियो ।
जारी सिजनको आईपीएलमा खेल्न लागिएको यो ५९औँ खेल हो । आईपीएलको १७औँ संस्करणमा चेन्नई र गुजरात दुबैले आफ्नो १२औँ खेल खेल्न लागेका हुन् । चेन्नईले यसअघि खेलिएको ११ मध्ये ६ खेलमा जित पाँच खेलमा हारको नतिजा निकालेको छ । चेन्नई १२ अंकसहित चौथो स्थानमा छ ।
गुजरातले भने निराशाजनक प्रदर्शन गर्दै आएको छ । गुजरातले यसअघि खेलिएको ११ मध्ये चार खेलमा जित र सात खेलमा हारको नतिजा निकालेको छ । गुजरात आठ अंकसहित तालिकाको सबैभन्दा तल अर्थात १०औँ स्थानमा छ ।
इन्डियन प्रिमियर लिगमा चेन्नई सुपर किङ्स र गुजरात टाइटन्सबिच हालसम्म कुल ६ खेल खेलिएको छ । त्यसमध्ये तीन खेलमा चेन्नईले गुजरातलाई हराएको छ । बाँकी तीन खेलमा गुजरातले चेन्नईलाई पराजित गरेको छ ।
जारी सिजनको आईपीएलमा चेन्नई र गुजरातबिच भिडन्त हुन लागेको यो दोस्रो पटक हो । यसअघि खेलिएको पहिलो खेलमा चेन्नईले गुजरातलाई ६३ रनले हराएको थियो । उक्त खेल चेन्नईको घरेलु मैदानमा खेलिएको थियो ।