बिहिबार, कार्तिक २६ २०८३

बिहिबार, कार्तिक २६ २०८३

हिरासत छल्न अस्पताल जाने प्रवृत्ति रोक्न गृहको सक्रियता

सोमबार, बैशाख २४ २०८१

काठमाडौं । उपप्रधान तथा गृहमन्त्री रवि लामिछाने हिरासत छल्न अस्पताल जाने प्रवृत्ति अन्त्य गर्न मातहतका निकायलाई निर्देशन दिएका छन् ।

पहुँच र पावरको भरमा हिरासत छल्ल उच्च पदस्थहरु स्वास्थ्यलाई बहाना बनाएर अस्पताल बस्ने परिपाटी रहेको जनस्तरमा गुनासो बढेसँगै गृह मन्त्रालयले यस्तो निर्देशन दिएको हो ।

मन्त्रीस्तरीय निर्णय गरेर मन्त्रालयले अनुसन्धान वा अभियोजनका लागि पक्राउ परेका व्यक्तिले चिकित्सकीय सिफारिसको सहायतामा हिरासत छल्न अस्पताल भर्ना हुने प्रवृत्ति अन्त्य गर्न मातहतका निकायलाई निर्देशन दिएको बताइएको छ ।

गृहमन्त्री लामिछानेले अस्पताल भर्ना हुने शारीरिक एवं मानसिक रूपमा अस्वस्थ भएको अवस्था, दीर्घरोगीहरु जस्तैस् उच्च रक्तचाप, मधुमेहलगायत नियन्त्रण नभएर अस्पतालमै बसेर उपचार गर्नुपर्ने अवस्थामा अस्पताल लग्नुपर्ने, अस्पताल लग्नुपर्ने विकल्पको रूपमा हिरासतमा नै सरकारी अस्पताल अथवा नेपाल मेडिकल काउन्सिल दर्ता चिकित्सकले परीक्षण गरेर अस्पताल राख्नु पर्ने,नपर्ने सम्बन्धमा निर्णय गर्न निर्देशन दिएका छन् ।

अस्पतालमा अब्जरभेसनका लागि ४८ घण्टाभन्दा बढी राख्नु परेमा उपयुक्त कारण खुलाउनु पर्ने निर्देशनमा उल्लेख छ। प्रहरीको नियन्त्रणमा रहेका व्यक्तिलाई चिकित्सकीय सहायता उपलब्ध गराउने हालको कानूनी प्रबन्ध र अभ्यासलाई वस्तुगत, तथ्यपूर्ण र विश्वसनीय बनाउन मन्त्रालयले चैत १३ गते नेपाल मेडिकल काउन्सिललाई अध्ययन गरी रायसहितको प्रतिवेदन दिन अनुरोध गरेको थियो।

काउन्सिलले वैशाख २३ गते बुझाएको प्रतिवेदनका आधारमा गृह मन्त्रालयले निर्णय गरेको हो ।