बिहिबार, कार्तिक २६ २०८३

बिहिबार, कार्तिक २६ २०८३

जसपामा विद्रोह

माधव नेपालको रणनीति फेल, प्रधानमन्त्री बन्ने आसमा उपेन्द्रको पार्टी नै विभाजन !

उपेन्द्रको उपप्रधानमन्त्री पद धरापमा

सोमबार, बैशाख २४ २०८१

काठमाडौं । उपप्रधानमन्त्री समेत रहेका जसपाका अध्यक्ष उपेन्द्र यादव अमेरिकाको भ्रमण गरी आज स्वदेश फर्किँदै छन् ।

यादव अमेरिका रहँदा पार्टीका वरिष्ठ नेता अशोककुमार राईले सात जना सांसद र ३० जना केन्द्रीय सदस्यसहित नयाँ पार्टी दर्ताका लागि निर्वाचन आयोगमा निवदेन दिएका छन् । जसले नयाँ राजनीतिक सिनारियोको निर्माण गरेको छ ।

उपेन्द्रले गठबन्धन भत्काउन खोज्दा आफ्नै दल जोगाउन सकेनन् । एकीकृत समाजवादीका अध्यक्ष माधव नेपालसँग मिलेर वर्तमान सत्ता गठबन्धन भत्काउन खोजेको आरोपमा उनीविरुद्ध सात जना सांसद र ३० जना केन्द्रीय सदस्यले विद्रोह गरे । उनीहरूले यादवले पार्टी कब्जा गर्न लागेको आरोप लगाउँदै सरकार ढाल्ने प्रयासविरुद्ध एक भएको दाबी गरेका छन् ।

जसपा विभाजनले वर्तमान सरकार ढालेर माधव नेपाल र उपेन्द्र यादवकाे प्रधानमन्त्री बन्ने चाहना र समीकरण फेर्ने गोप्य  रणनीति नै फेल भएको छ ।

कांग्रेसले माधव नेपाललाई अघि सारेर वैकल्पिक समीकरण बनाउन पहल गरिरहेको बेला विभाजन भएको जसपाले एमाले–माओवादी गठबन्धनलाई साथ दिने भएको छ । साेही वैकल्पिक समीकरण बनाउने रणनीति विरुद्द नै जसपा विभाजन गर्न बाध्य भएकाे विभाजित नेताहरुले दाबी गरेका छन् ।

नेपाली कांग्रेसको पहलमा एकीकृत समाजवादीका अध्यक्ष नेपालले जसपा नेपालका अध्यक्ष यादवलाई समेत साथमा लिएर वैकल्पिक गठबन्धनका लागि प्रयास गरिरहेका थिए । उनीहरुबीच पटक पटक गोप्य छलफल समेत भएका थिए । नेपाल र यादव दुई नेताबीच वैकल्पिक गठबन्धन पछि प्रधानमन्त्रीमा पनि आलोपालोको सहमतिसमेत भएको स्रोतले बतायो । स्रोतका अनुसार यादव स्वदेश फर्किनु अघि नै नयाँ समीकरण बनाउने गरि उनीहरुबीच छलफल चलेको थियो । यतिसम्म कि पहिलो एक/एक वर्ष माधव नेपाल र उपेन्द्र यादव प्रधानमन्त्री बन्ने त्यसपछिको बाँकी कार्यकाल देउवा प्रधानमन्त्री हुनेगरिको छलफल चलेको थियो ।

प्रमुख प्रतिपक्षी दलका नेता एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवासमेत त्यसमा सहमत भएका थिए । अमेरिका उड्नु अघि उपेन्द्रले देउवासँग पनि गोप्य छलफल गरेको विश्वस्त स्रोतले बतायो ।

यो घटनाले उनको उपप्रधान एवम् स्वास्थ्यमन्त्रीबाट पदमुक्त हुने खतरा बढेको छ । सत्ता गठबन्धन फुटाउने माधव नेपालसहित उपेन्द्रको प्रयासले प्रधानमन्त्री प्रचण्डसहित एमाले अध्यक्ष केपी शर्मा ओली चिडिएको स्रोतको दाबी छ ।

माओवादी केन्द्रका एक नेताले माधव नेपालको एकीकृत समाजवादीमा पनि एक दुई दिन भित्र यस्तै प्रकारको परिघटना हुनसक्ने आशंका व्यक्त गरे । ‘माधवजीहरुको अलि बढ्ता नै बार्गेनिङ र कचकचले प्रधानमन्त्रीजी आजित हुनुहुन्छ हेरौ आउँदो संसद बैठकमा नयाँ प्रकारकाे दृश्य देखिए अचम्म नमान्नु होला ।’ उनले भने ।

१२ सांसद रहेको जनता समाजवादी पार्टी विभाजन भएपछि अध्यक्ष उपेन्द्र यादवसँग ५ सांसद बाँकी रहेका छन् । सात सांसदले जसपा पार्टी गठन गरेपछि उपेन्द्रसँग उनीबाहेक ४ सांसद बाँकी रहेका हुन् ।

जसपा नेपालसँग अहिले प्रतिनिधि सभामा १२ जना र राष्ट्रिय सभामा तीन जना सांसद रहेका छन् । जसमा प्रतिनिधि सभामा अशोककुमार राई, उपेन्द्र यादव, दीपक कार्की, नवलकिशोर शाह, प्रकाश अधिकारी, प्रदीप यादव, रन्जुकुमारी झा, राजकिशोर यादव, रेखा यादव, विरेन्द्रप्रसाद महतो, सुशीला श्रेष्ठ, हसीना खान गरेर १२ जना सांसद रहेका छन् । यस्तै राष्ट्रिय सभामा तीन जना सांसद रहेका छन् । जसमा पुजा चौधरी, मृगेन्द्रकुमारसिंह यादव र मोहम्मद खालिद रहेका छन् ।

जसपाका १५ सांसदमध्ये ६ जना सांसदसहित ४० प्रतिशत केन्द्रीय सदस्य मिलेर अर्को दल दर्ता गर्न पाउछन् । संघीय संसदको ४० प्रतिशत हिसाव गर्दा जसपा मध्ये सात जना सांसद नयाँ दल दर्ता गर्नेगरी राईको पक्षमा निर्वाचन आयोगमा पुगेपछि उपेन्द्र यादवको पक्षमा भने ८ जना सांसद मात्रै देखिएका छन् ।