बिहिबार, कार्तिक २६ २०८३

बिहिबार, कार्तिक २६ २०८३

सुदूरपश्चिमका मुख्यमन्त्री सोडारीले आज विश्वासको मत लिने, काँग्रेसले अवरोध गर्ने

शनिबार, बैशाख २२ २०८१

कैलाली । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री दीर्घ सोडारीले आज पनि विश्वासको मत लिने तयारी गरेका छन् । हिजो विश्वासको मत पाउने सम्भावना क्षीण भएपछि आजको लागि प्रदेश सभा बैठक आह्वान गरिएको छ ।

आज साझ ५ः३० बजे विश्वासको मत लिने गरि प्रदेश सभा बैठक आह्वान गरिएको प्रदेश सभा सचिवालयका सचिव देवबहादुर बोगटीले जानकारी दिए ।

मुख्यमन्त्री सोडारीले आजको लागि बैठक सारिदिन सभामुखलाई आग्रह गरेका थिए । मुख्यमन्त्रीको आग्रह पछि विश्वासको मत लिने तयारी आजलाई सरेको हो।

प्रदेशसभाको हिजो आह्वान भएको बैठकमा मुख्यमन्त्री सोडारीले विश्वासको मत लिने कार्यसूची थियो । हिजो विहान बस्ने तयभएको प्रदेशसभा,कार्यव्यवस्था परामर्श समितिको बैठक पनि बस्न सकेन । सत्तासाझेदार नेकपा (एमाले)ले आफूहरुको तयारी नपुगेको र थप छलफल गर्नुपर्ने भनेपछि हिजोको बैठक स्थगित भएको नेकपा (एकीकृत समाजवादी) संसदीय दलका उपनेता प्रकाश रावलले बताएका थिए। “सत्ता साझेदार दल सबैबाट मुख्यमन्त्रीले विश्वासको मत पाउनेमा विश्वस्त छौं”उनले भने,“मुख्यमन्त्रीले विश्वासको मत लिन आह्वान भएको बैठकमा प्रतिपक्षी नेपाली काँग्रेसले प्रतिवाद गर्ने कुरा उसको धर्म हो ।”

यता सोडारीलाई असंवैधानिक ढङ्गले मुख्यमन्त्रीमा नियुक्त गरिएको जिकिर गर्दै काँग्रेसले मुख्यमन्त्रीले विश्वासको मत लिन खोजे अवरोध सिर्जना गर्ने निर्णय गरेको छ ।

मुख्यमन्त्रीले विश्वासको मत लिन प्रदेशसभाको बैठक आह्वान भएपछि प्रदेशसभामा प्रतिनिधित्व गर्ने नागरिक उन्मुक्ति पार्टी(नाउपा) संसदीय दलका प्रमुख सचेतक खुशीराम डगौराले मुख्यमन्त्रीले लिने विश्वासको मतको विपक्षमा मतदान गर्न निर्देशन जारी गरेका छन्।

सोडारी नेतृत्वको सरकारमा नाउपाका अध्यक्ष रञ्जिता श्रेष्ठ चौधरी पक्षधर दुई प्रदेशसभा सदस्य मन्त्री छन्। नाउपा अध्यक्ष रञ्जिता अहिलेकै सत्तागठबन्धनलाई सहयोग गर्नुपर्ने पक्षमा र संस्थापन संरक्षक रेशमलाल चौधरी नेपाली काँग्रेस सहितको गठबन्धनको पक्षमा छन् । नाउपामा देखिएको आन्तरिक विवादकै कारण संस्थापक संरक्षक पक्षधर पाँच सदस्यको तर्फबाट प्रमुख सचेत डगौराले विपक्षमा मत दिन ह्वीप लगाएका हुन् । यो पार्टीको आन्तरिक विवाद थप चर्किने देखिएको छ । एमाले,माओवादी केन्द्र, नागरिक उन्मुक्ति पार्टीका दुई सदस्य,स्वतन्त्र सदस्य डा. तारा जोशीको समर्थनमा एकीकृत समाजवादी संसदीय दलका नेता सोडारी यही वैशाख ६ गते सुदूरपश्चिम प्रदेशको मुख्यमन्त्रीमा नियुक्त भएका थिए ।

त्रिपन्न सदस्यीय प्रदेशसभामा ठूलो दल नेपाली काँग्रेसका १८,नेकपा (माओवादी केन्द्र)को सभामुख वाहेक १०, नेकपा (एमाले) को ११, नागरिक उन्मुक्ति पार्टीको सात, नेकपा (एकीकृत समाजवादी) पार्टीका चार,राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) को एक र एक स्वतन्त्र सदस्य छन् ।