बिहिबार, साउन १४ २०८३

बिहिबार, साउन १४ २०८३

अग्निपीडितलाई राहत लिएर गाउँगाउँ छिर्‍याे युवासंघका केन्द्रिय उपाध्यक्ष अमित लामासहितकाे युवा टाेली

शुक्रबार, बैशाख २१ २०८१

काठमाडौं । देशभर वन डढेलोदेखि घर आगलागीका घटनाले यति बेला विपत निम्त्याएको छ । लामो सयम पानी नपर्दा धेरै स्थानमा गाउँनै जलेर सखाप भएका छन् । आगलागीका कारण जनधनको क्षति हुनुको साथै पारिवारिक विचल्लीसमेत भएको छ । बालबालिका र बृद्धबृद्धा यसको बढी मारमा छन् । वर्षभरी खान जोगाएर राखेको अन्नपात जल्नुको साथै लगाउने लत्ताकपडा, बस्ने बाससमेत गुमेको छ ।

देशभर डढेलो र आगलागीको घटना बढ्दै जाँदा राष्ट्रिय युवा संघ नेपालको युवा टोलीले राहत र सहयोगको काम अघि बढाएको छ ।

केही दिनअघि यस्तै आगलागीमा परेर रोशी गाउँपालिका वडा नम्बर ४ महादेवटार सानुपोटामा १५ घरपरिवार र डाँडागाउँ १ घर परिवार र माटेमा २ घर परिवार गरि १८ घरपरिवारको विचल्ली भयो ।

ती महादेवटारका आगलागी पीडित परिवारलाई राष्ट्रिय युवा संघ नेपालका केन्द्रिय उपाध्यक्ष अमित लामासहितकाे टाेलीले खाद्यान्नको व्यवस्थापन गरिदिकाे छ ।

वनमा लागेको डडेलो बस्तीमा पसेपछि पुरै गाउँ नै आगलागीमा परेको थियो । आगलागीबाट घर र घरमा भएको सम्पूर्ण अन्नपात, लत्ताकपडा नगदसमेत जलेको थियो । ती पीडित १८ घरपरिवारहरुलाई युवा संघ केन्द्रिय उपाध्यक्ष लामाल खाद्यान्नको व्यवस्थापन र आफ्नो ब्यक्तिगत रुपमा करिब एक लाख बराबरको चामल, दाल, तेल, चिनी, चिउरा लगायत खाद्यान्न बितरण गरेका थिए ।

रोशी गाउँ पालिका वडा न १ निवासी युवा नेता अमित लामा पहिलेदेखि नै समाजसेवामा सक्रिय छन् । ०७२ सालको भुकम्पदेखि प्रत्येक वर्ष भइरहेको प्राकृतिक विपत्ति, बाढीपहिरोलगायत समाज सेवामा उनी सक्रिय छन् । हरेक दुःखकष्ट, पीडा र आपत विपतमा सहयोगी बनेर उनी पहिले नै जनताका घरघरमा पुग्छन् । सोही शिलशिलामा रोशी ४ महादेवटारमा उनी खाद्यान्न लिएर पुगेका हुन् ।

यस्तै महादेवटारका अग्नीपीडितलाई नेकपा एमाले काभ्रेका युवा नेताको समुहले सहयोग गरेको छ ।

एमालेका युवा नेताको टोली अग्निपीडितलाई सहयोग गर्न सानोपोटा पुगेको थियो । सोही शिलशिलामा एमाले रोशी गाउँ कमिटीले अग्नीपिडितलाई आवश्यक सामाग्री किन्न नगद सहयोग गरेको थियो ।

पीडितलाई सहानुभूति र राहत लिएर बागमती प्रदेश पुर्व मन्त्री चन्द्र लामा, पुर्व मन्त्री रेशम लामा, पुर्व सांसद नबिना लामा, एमाले काभ्रेका सचिव राजन भुर्तेल नेकपा एमाले प्रदेश कमिटी सदस्य दिलिप लामा, बबिता बोहरा, युवा संघका नेता सागर रायमाझी लगायत नेता कार्यकर्ता क्षतिग्रस्त बस्तीमा पुगेर आर्थिक तथा खाद्यान्न सहयोग गरेका छन् । तत्कालका लागि पालिका कमिटिले रु।१५ हजार रुपियाँ नगद र खाद्यान्न वितरण गरेको र बाँकी सहयोग पनि निरन्तर रुपमा गर्ने प्रतिबद्धता व्यक्त गरेका थिए ।

बिहीबार रोशी गाउँकमिटीबाट पीडित प्रति परिवार नगद १५ हजार दरले १८ घरपरिवारलाई हस्तान्तरण गरेको हो । गाउँ कमिटी अध्यक्ष देवसागर लामाले अग्नि पीडितलाई सहयोग बितरण गरिएको जानकारी दिए ।

आगलागीबाट पीडित परिवारहरुको आवश्यकताको आधारमा खाद्यान्न सामाग्री वितरण गरेको र आगामी दिन थप सहयोग गर्ने प्रतिबद्धता गाउँ कमिटी उपाध्यक्ष चन्द्र लामाले व्यक्त गरे । आगलागीमा परेर सानुपोटामा १५ घरपरिवार र डाँडागाउँ १ घर परिवार र माटेमा २ घर परिवार गरि १८ घरपरिवारलाई सो सामाग्री हस्तान्तरण गरेको उनले उल्लेख गरे ।

सामाग्री हस्तान्तरणपछि बस्तीको स्थलगत निरीक्षण गर्दै नेताहरुले सरकारसँग तत्कालै सो बस्तीको पुनः निर्माणको माग गरेका छन् ।
चन्द्र लामाले सदैव जनताको दुख र सुखमा काम गर्ने र पदमा हुँदा पनि नहुँदा पनि जनता नै प्राथमितकतामा राख्ने स्पष्ट पारे । उनले एमाले जनताको पार्टी भएकाले जनताको सेवा सदैव समर्पित हुने उल्लेख गरे ।

काभ्रे जिल्लाभरी फैलिएको डडेलो नियन्त्रणमा लाग्न, थप आगलागीका घटना हुन नदिन भुमिका खेल्न नेता कार्यकर्तालाई उनले निर्देशन दिए । प्रहरी प्रशासनलाई पनि आगो लगाउने समुहलाई नियन्त्रणमा लिन अनुरोध गरे ।