शनिबार, कार्तिक १४ २०८३

शनिबार, कार्तिक १४ २०८३

लखनउबिरुद्ध मुम्बईको हार

बुधबार, बैशाख १९ २०८१

काठमाडौं । इन्डियन प्रिमियर लिग (आईपिएल) अन्तर्गत गएराति भएको खेलमा लखनउ सुपर जायन्ट्ससँग मुम्बई इन्डियन्स चार विकेटले पराजित भएको छ।

टस हारेर पहिला ब्याटिङ गरेको मुम्बईले २० ओभरमा ७ विकेट गुमाएर १४४ रन बनाएको थियो। १४५ रनको लक्ष्य पछ्याएको लखनउले चार बल बाँकी हुँदा चार विकेटको जित निकालेको हो। सामान्य लक्ष्य पछ्याएको लखनउले ६ विकेटको क्षतिमा १९ दशमलव २ बलमा १४५ रन बनाएको हो।

लखनउको जितका लागि मार्कस स्टोइनिसले सर्वाधिक ६२ रन बनाए । ४५ बल खेलेका उनले सात चौका र दुई छक्का प्रहार गरे। कप्तान केएल राहुल २८ र दिपक होडा १८ आउट हुँदा निकोलस पूरनले नटआउट १४ रन जोडे।

मुम्बईका लागि हार्दिक पाण्डेयले २६ रन खर्चिएर दुई विकेट लिए भने नुवान तुषारा, जिराल्ड कट्टेज र मोहम्मद नाबीले एकएक विकेट हात पारे।सुरुमा ब्याटिङ गरेको मुम्बईका नेहाल वढेराले सर्वाधिक ४६ रन बनाए। ४१ बल खेलेका उनले चार चौका र दुई छक्का प्रहार गरे।

इशान किशन ३२ रनमा आउट हुँदा टिम डेभिडले अविजित रहँदै ३५ रन बनाए। सुरुवाती ब्याट्सम्यान सूर्यकुमार यादव १० र रोहित शर्मा चार रनमै आउट भए।लखनउका मोहसिन खानले सर्वाधिक दुई विकेट लिए। मार्कस स्टोयनिस, नवीन उल हक, मयंक यादव र रवि विश्वोईले एकएक विकेट हात पारे ।

यो जितसँगै लखनउ आईपिएलमा १२ अंकसहित तालिकाको तेस्रो स्थानमा उक्लिएको छ। मुम्बई भने लखनउसँगको हारसँगै १० मा सात खेल गुमाउँदै तालिकाको नवौं स्थानमा छ। उसले जम्मा ६ अंक जोडेको छ। आईपिएल अन्तर्गत बुधबार चेन्नाई सुपर किंग्स र पञ्जाब किंग्सको प्रतिस्पर्धा हुँदैछ । यो खेल बुधबार साँझ ७ः४५ बजे सुरु हुँदैछ।