भर्खरै भएको उपनिर्वाचनको परिणामले वामपन्थी एकता भन्दा पनि एमालेको आधार बढ्दै गएको र जनताको एमालेप्रति आकर्षण बढेको पुष्टि हुन्छ । इलाम २ मा आफ्नो सीट सुरक्षित राखेको छ भने बझाङ क जितेर सुदुरपश्चिम प्रदेश सभामा एक सीट थपेको छ । यो परिणामकाे उत्साहले गाउँ-टोलटोलमा संगठन भएको एमाले फेरि आगामी दिनमा पुरानै लयमा फर्किने संकेत पनि हो ।

यो परिणामले पुराना दलकाे विकल्पका रुपमा आफूलाई दावी गर्ने नयाँ दल, पहिचानको रटान लिएर लामो समय आन्दोलन गर्ने समूहलाई समेत संदेश दिएको छ । त्याे भन्दा ठुलाे र अर्थपूर्ण सन्देश भने कसैको सिखण्डी बन्दै एमाले फुटाउने लामो समय एमालेकै नेतृत्वमा रजगज गर्ने दुई पूर्व प्रधानमन्त्री एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल र सम्मानित नेता झलनाथ खनाललाई राजनीतिबाट सन्यास नै लिने गरिको सन्देश दिएको छ । नैतिकताको दुहाइ दिने यी नेताले त्यो निर्णय लिन अब ढिला गर्नु हुँदैन ।

उनीहरुका उम्मेदवारले दुवै ठाउँमा जमानतसमेत जोगाउन नसक्नु कम लज्जाको विषय पक्कै होइन । पार्टीमा सम्मानित नेतकाे दर्जा लिएका खनालले चुनावी कमाण्डर लिएकाे उनकै गृह जिल्ला इलाममा उनकै वडाबाट उनका पार्टीका उम्मेदवारको जम्मा ८ मत आएको छ । कुल ६९ हजारले मतदान गरेको इलाम २ मा एकीकृत समाजवादीले जम्मा ४ सय ८ मत पाएर जमानतसमेत गुमेको छ । एकीकृत समाजवादीको उम्मेदवारले आश्चर्यजनक रुपमा चुनाव जित्ने सम्मका उनका दावीसहितका अन्तर्वार्ता अहिले पनि भाइरल छन् ।

दुरदर्शी नेतामा ओली
पार्टी फुट र घेरावन्दीका कारण २०७९ सालको चुनावमा पार्टीले लिएको अपेक्षा विपरीत नतिजा आएपछि उमेरले ७० पार गरेका एमाले अध्यक्ष केपी शर्मा ओलीले संकल्प यात्रा र मिसन ग्रासरुट अभियान मार्फत पश्चिमदेखि पूर्वसम्म आफ्नाे ज्यान सवार गराए । ओलीले बैतडीको झुलाघाटमा राष्ट्रिय झन्डा फहराएर यात्राको शुभारम्भ यसै पक्कै गरेका थिएनन् । भावी रणनीति, आफ्नाे दल एमाले प्रतिको जनविश्वास र जनअपेक्षा, निराशालाई चिर्न भन्दै उनी यात्राका क्रममा जनजनसम्म पुगे । कुरा सुने । आशा जगाए ।
१४ मंसिरबाट बैतडीबाट सुरु भएको मध्यपहाडी राजमार्ग केन्द्रित ’झुलाघाट–चिवाभञ्ज्याङ समृद्धिका लागि संकल्प यात्रा’ १ पुसमा पाँचथरको चिवाभञ्ज्याङ पुगेर समापन भएको थियो ।
एमालेले आफ्नो साङ्गठनिक स्थिति थाहा पाउन १० महिनाअघि गरेको ’मिसन ग्रासरुट’ अभियानपछि जनस्तरसम्म पुग्न भन्दै संकल्प यात्राको ’कन्सेप्ट’ ल्याएको थियो । तराईका राजमार्ग केन्द्रित पार्टी कार्यक्रम गर्दै आएको एमालेले यो अभियानमा भने आफ्नो पकड रहेको मध्यपहाडी क्षेत्र छिचोल्नेगरीको यात्रा तय गरेको थियो । भलै कति एमाले विरोधी तथा विशेषत ओली विरोधीले यसको खिल्ली उडाए । तर, यी दुई कार्यक्रम ओलीको ‘स्ट्राटेजी’ थिए ।
‘समृद्धिका लागि संकल्प यात्रा’ नाराका साथ अभियान थालिएको थियो । १९ दिनसम्म चलेको अभियानमा १ हजार ८ सय ८९ किलोमिटर यात्रा र लाखौं स्थानीयसँग छलफलसमेत गरेको थियो । देखिँदा मिसन २०८४ भएपनि ओलीकाे रणनीति भए मध्यावधि नभए आउँदै गरेकाे उपनिर्वाचन लक्षित भएकाे विपक्षीले पत्तै पाएनन् । अझ उनीहरु कुबेलाको तिर्थाटन भनेर खिसी गर्न तिर लागे ।
जटिल भौगोलिक संरचना, छरिएका बस्ती, प्राकृतिक विपत्तिको उच्च जोखिम, वन्यजन्तुका कारण कृषि उत्पादनमा ह्रास तथा जलवायु संकट पहाडको विकासका मुख्य चुनौतीकै सवालमा अन्तरक्रिया गर्दै एमालेले सके अघि नै नभए ०८४को आम चुनावपछि पुन सत्तामा कम्ब्याक गर्ने उद्धेश्यले यो अभियान चलाएको थियो ।
ओलीको क्षमतामा कसैले ईष्र्या, डाह गरेर हुनेवाला केही छैन उनी समकालीन नेताहरुमा अतुलनीय छन् । ओलीलाई मन नपराउनेहरु कि उनकै पार्टी भित्रका उनको उचाईप्रति डाह गर्नेहरु छन् कि फरक पार्टीका छन् । खुल्ला हृदयले उनका गतिविधि मुल्यांकन गर्ने हो भने ओली तुलनात्मक रुपमा अरुभन्दा धेरै फरक छन् । फ्याट्ट अरुलाई घोचपेज गरिहाल्ने उनको जन्मजात प्रवृतिलाई छाड्ने हो भने ओली अरुभन्दा राष्ट्रवादी, आशा जगाउनसक्ने, वौद्धिक, तर्क गर्नसक्ने, अध्ययनशील, देशको विकासप्रति चासो राख्ने, बालबालिकादेखि युवामा लोकप्रिय देखिन्छन् । आखिर ओली अरुभन्दा पृथक किन भए ? गत निर्वाचनमा मुख्य भनिएका मात्र होइन स–साना दलहरु मिलेर महागठबन्धन बनाएर उनकै पार्टी फूटाएर चुनाव लड्दासमेत उनको दल एमाले समानुपातिकमा पहिलो र प्रतिनिधिसभामा दोस्रो भयो । त्यो ओलीमा अहंकार र अधिनायकत्व देख्नेहरुलाई उनले दिएको जवाफ हो । त्यतिमात्र होइन संसद विघटन गरी नयाँ जनादेशमा जाने उनकाे निर्णय संविधानमाथिको प्रहार, संविधानमाथि ‘कू’ हो भन्दै सडकमा पलेँटी मार्ने र पार्टी नै फुटाउनेहरुलाई थ्रेसहोल्डसम्म कटाउन नसक्नेगरी थला पारिदिए । भलै अरुकाे सहारामा २-४ सीट जित्नुलाई ठुलाे उपलब्धि मान्नु भन्दा आफ्ना कमजोरी महसुस गर्नु श्रेयस्कर होला ।
पहिचान पक्षधरलाई सुझाव
पूर्वी इलामको चुनावी नतिजाले एकल जातिय पहिचानको माग राख्दै लामो समय आन्दोलन गरेका समूहलाई एउटा सवक दिएको छ । पहिचान पक्षधरले कोशी प्रदेशको नामलाई लिएर एमाले नेतालाई प्रदेश प्रवेशमासमेत निषेध गर्दै आएकाे थियाे । एमाले नै पहिचान विराेधी पार्टी जस्ताे भास्य निर्माण गरिएकाे थियाे । तर त्यही एमालेले दुवै स्थानमा जित्न पुग्याे । यो चुनावी परिणामले बहुजातिय बहुभाषी नेपाली समाजमा अतिवादी पक्षधरलाई जनताले नरुचाएको विश्लेषण हुन थालेको छ । भलै पहिचान पक्षका उम्मेदवारले इलाम २ मा सम्मानजनक मत भने ल्याए ।
लोकतन्त्रमा कसैलाई निषेध भन्दा पनि सहमति र नियमसंगत, संवैधानिक रुपमा आफ्ना माग र अधिकार खोज्नु बाञ्छनिय हुन्छ । अतिवाद र उच्छृङकल गतिविधिले कसैलाई भलो पक्कै गर्दैन । सदिँयौदेखि मिलेर बसेको नेपाली समाजमा विगत केही वर्ष यता धरानलगायत ठाउँका गतिविधि पक्कै पनि जनतामा रुचिकर थिएनन् र हुँदैनन् ।

एमाले अध्यक्ष ओलीले कोशी प्रदेशको नामकरणविरुद्ध भइरहेको आन्दोलनको औचित्यमाथि फेरि प्रश्न उठाएका छन् । उनले जात र थरलाई पहिचान बनाउन नहुने तर्क गर्दै आएका छन् । इलाम २ मा पार्टीले जित हासिल गरेपछि मंगलबार आयोजित विजय सभामा उनले पहिचानको विषयमा यस्तो बताएका हुन् ।
ओलीले भनेका छन्, ‘पहिचान भनेको के हो ? केलाई पहिचान भन्ने ? हामी सबै नेपाली हौं । त्यही पहिचान हो । धनी भए धनी नेपाली । गरिब भए दुनियाँले हेप्ने गरिब नेपाली । पढ्न पायौं भने विद्वान नेपाली, पाएनौं भने बुद्धु नेपाली । कस्तो पहिचान ? व्यक्तिगत पहिचान बनाउन खोज्यौं भने कोही सफल हुन सक्दैन । समृद्ध नेपाल सुखी नेपाली भनेपछि त्यही हो पहिचान । नेपाली जनता सुखी हुनुपर्छ । प्रदेशको नाम पहिचानको कुरा होइन । पहिचान भनेको नामको कुरा होइन । जाति विशेषको, थर विशेषको कुरा होइन । पहिले पनि जसरी बाँडिएका थिए, मेची, कोशी अञ्चल थिए । तसर्थ यो धेरै ठूलो कुरा होइन । यो विषयलाई संवेदनशील बनाउनुपर्ने केही छैन । साझा नाम राख्दा केही बिग्रिँदैन । हामी सयौं थुंगा फुलका एउटै माला हौं । इलाममा पनि सूर्य चिन्हले जित्यो, त्यही हो पहिचान ।’