इलाम । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापती तथा गृहमन्त्रि रवि लामिछानेलले जनताबाट प्रत्येक दिन भ्रष्टाचारीलाई पक्रने दबाब भए पनि प्रत्येक दिन धेरै मानिस पक्राउ गर्न नसकिने बताए । ‘मैले प्रत्येक महिनामा ठूलो भ्रष्टाचारीलाई पक्रन्छु भनेको छु तर तपाईंहरु प्रत्येक दिन भ्रष्टाचारीलाई थुन्नु पर्यो भन्नु हुन्छ । तपाईंहरु धेरै आत्तिनु हुँदैन । तपाईंहरु अर्को महिना सप्राइज कुरेर बस्नु होला आउँदैछ ।’ सरकारले अर्को महिना कसलाई पक्रन लागेको र उनीमाथी के आरोप छ भन्नेबारे गृहमन्त्री लामिछानेले केही पनि खुलाएनन् । तर उनले ठूलै सप्राइज आउने बताए ।
लामिछानेले आफ्नो पार्टीले जनताका पक्षमा काम गरेकै कारण पुराना दलहरुले बदनाम गर्न विभिन्न ढंगले हिलो छ्यापेको बताए ।
कसैको नाम नलिइकन उनले भने, ‘कहिले हामीमाथी सहकारीको कुरा उठाएर प्रहार गरिन्छ त कहिले के विषय उठाएर प्रहार गरिन्छ । तपाईंहरुले बुझ्नु होला जनताको पक्षमा काम गरेकै कारण यी प्रहार भएका हुन ।’ इलाम उपनिर्वाचनको पूर्वसंध्यामा रास्वपाले इलामको दउमाई नगरपालिकाको मंगलबारेमा आयोजना गरेको बृहद आमसभालाई सम्बोधन गर्ने क्रममा सभापति तथा उपप्रधान तथा गृहमन्त्री लामिछानेले त्यस्तो बताएका हुन् ।
रास्वपाका सभापति लामिछानेले भने, ‘पार्टीको सटर बन्द गर्न परे गर्छु तर कुनै लुटेराको पैसा र चन्दा लिएर पार्टी चलाउने छैन । पैसाको बलमा लोकतन्त्र किन्नेहरुलाई खबरदारी गर्न तपाईंहरुले बैशाख १५ मा घण्टीमा भोट हाल्नु पर्नेछ ।’ ०८४ को निर्वाचनसम्म आफूहरुलाई पुराना शक्तिहरुले थिलथिलो बनाउने बताउँदै उनले भने, ‘०८४ सम्म हामीलाई थिलथिलो पार्नेछन् हेर्नु होला । जनताको पक्षमा काम गर्नेहरुलाई झुठा मुद्दा लाग्छन्, उनीहरुको विषयमा अनर्गल प्रचार गरिन्छ । तपाईंहरु त्यसले आत्तिनु पर्दैन ।’
नेपाली काँग्रेसले सहकारीको मुद्दा उठाएको बारे सांकेतमा कुरा गर्दै उनले राजनीतिक षडयन्त्रमा आफूलाई फसाईएको बताए । त्यसैको फलस्वरुप आफ्नो पुत्लासमेत जलाईएको उनको कुरा थियो । उनले भने, ‘अहिले धेरै ठाउँमा मेरो पुत्ला जलाउन थालिएको छ, मैले पुत्ला जलाउने साथीहरुलाई अलिक राम्रो फोटो राखेर पुत्ला बनाउनु भनेको छु ।’
उनले आफूहरु देश बनाउने अभियानमा आएको बताउँदै व्यक्तिगत रुपमा त्यसले कसैलाई फाइदा नगरे पनि देशका लागि फाइदाजनक भएको बताए ।
त्यस्तै भेलालाई सम्बोधन गर्दै रास्ट्रिय स्वतन्त्र पार्टीका उपसभापति तथा अर्थशास्त्री स्वर्णीम वाग्लेले इलामको निर्वाचन आफूहरुले जीति सकेको तर निर्वाचन आयोगले घोषणा मात्रै गर्न बाँकी रहेको बताएका छन् ।
इलाम उपनिर्वाचनको मौन अवधी शुरु हुनु अगावै बुधबार पार्टीले राखेको बृहद आमसभामा बोल्दै वाग्लेले चुनाव जिति सकेको बताएका हुन । ‘राजनीति भनेको अंकगणीतको मात्रै कुरा होइन, त्यसो त मतगणना हुन बाँकी नै छ, तर हामीले चुनाव जिति सकेका छौँ ।’ वाग्लेले भने ।
रास्वपाको तनहुँबाट संघीय सांसद रहेका वाग्ले इलाममा बैशाख १५ मा हुन लागेको उपनिर्वाचनको प्रचार–प्रचार तथा घरदैलो कार्यक्रममा सक्रिय छन् । बुधबार राती १२ बजेबाट निर्वाचनको मौन अवधी शुरु हुनु अगावै आज रास्वपाले इलामको देउमाई नगरपालिकाको मंगलबारेमा तथा इलाम नगरपालिकाको चोक बाजरमा बृहद आमसभाको आयोजना गरेको हो ।
मन्तब्य राख्ने क्रममा आफ्ना उम्मेदवार मिलन योङहाङ लिम्बूका विरुद्ध विरोधी राजनीतिक दलहरुले अफवाह फैलाई रहेको बताउँदै, उनले पुराना दलहरु पराजयबाट तर्सिएको बताए । ‘रास्वपा अहिलेको बिग्रिएको राजनीतिलाई संग्ल्याउन, आशाको राजनीति गर्नका लागि जनताको घरदैलोमा आएको हो । तर पुराना दलहरु उसको अभियानबाट अत्ताल्लिएका छन् । त्यसैले आरोप प्रत्यारोपमा उत्रिएका छन् ।’, उनले भने ।
इलामको चुनावी प्रचार प्रचारमा आक्रामक देखिएको रास्वपाका सभापति रवि लामिछाने तथा अन्य नेताहरु यतिबेला इलाममै छन् ।
कार्यक्रमममा सहमहामन्त्री कविन्द्र बुर्लाकोटी लगायतले मन्तब्य राखेका थिए ।