केन्द्रीय सदस्य किन बनाइयो अनि उनी किन एमालेको बिरोधमा अहिले सक्रिय छन्? अध्यक्ष ओलीसँग तारन्तार प्रश्न उठेका छन्
काठमाडौं– नेकपा एमालेको गोदाबारीमा सम्पन्न केन्द्रीय परिषद बैठकमा दुर्गा प्रसाईंको विषय इन्ट्रि भयो । उनी किन एमाले बने र किन बदनामी गर्न हिँडिरहेका छन् भन्ने प्रश्न अध्यक्ष केपी शर्मा ओलीलाई गरिएको छ ।
राजनीतिक, सांगठनिक र केन्द्रीय निकायहरूका प्रतिवेदनमाथि समूहगत छलफल भए । सो क्रममा पनि प्रश्न उठेको थियो । अमृत बोहरा अध्यक्ष रहेको एमाले सल्लाहकार परिषद्ले दुर्गा प्रसाईंलाई किन भित्राएको भनी प्रश्न उठाएपछि ओली तरंगित भए ।
प्रसाईं सुरूमा नेकपामा आबद्ध थिए। नेकपा विभाजन भएर एमाले, माओवादी केन्द्र अलगअलग पार्टीको अस्तित्वमा फर्किएपछि उनी एमालेतिर लागेका थिए। पछि एमालेको केन्द्रीय कमिटी सदस्य भएका थिए।
अहिले उनले एमाले परित्याग गरिसकेका छन्। एमाले र अध्यक्ष ओलीको चर्का आलोचक बनेका प्रसाईं प्रवृत्तिबाट पार्टीले पाठ सिक्नुपर्ने सल्लाहकार परिषद्को ठहर छ।
सल्लाहकार परिषद्ले ऐन महरको राजीनामा र पुनः मनोनयको विषय पनि उठाएको छ। गत फागुन ३ गते बसेको पार्टी सचिवालय बैठकले ऐन महर र सिराज अहमद फारुकीले पदबाट दिएको राजीनामा स्वीकृत गरेको बताइएको थियो।
राजीनामा दिनुको कारण नखुलाए पनि महरको राजीनामाको विषय उनको आचरणसँग जोडिएको पार्टीका नेताले बताएका थिए। पार्टीनिकट एक महिलासँग अनैतिक सम्बन्धको अडियो बाहिर आएपछि पार्टी नेतृत्वले नै महरलाई राजीनामा दिन लगाएको ती नेताले बताएका थिए।
चैत ११ गते बसेको सचिवालय बैठकले उनलाई केन्द्रीय कमिटीमा पुनः मनोनीत ग¥यो।
महरलाई किन राजीनामा दिन लगाइयो र किन केन्द्रीय सदस्यमा मनोनीत गरियो भनेर एमालेले सार्वजनिक रूपमा भने बताएको छैन।
एमालेभित्र युवा फाँट इञ्चार्ज महेश बस्नेतको विषय पनि उठेको थियो । उनको पनि अहिले विभिन्न महिलासँगको सम्बन्धको विषय पनि उठेको थियो ।