काठमाडौं । एसीसी प्रिमियर कपको उपाधि यूएईले जित्दै एसिया कपमा छनोट भएको छ । आइतबार भएको फाइनल खेलमा घरेलु टोली ओमानलाई ५५ रनले हराउँदै यूएईले उपाधि कब्जा गरेको हो ।
फाइनल खेलमा टस हारी पहिले ब्याटिङको निम्तो पाएको यूएईले निर्धारित २० ओभरमा चार विकेट गुमाएर दुई सय चार रन बनाएको थियो । यूएईका कप्तान मोहम्मद वासिमले शतक हानेका थिए ।
जवाफी ब्याटिङमा ओर्लिएको ओमानले भने निर्धारित ओभरमा नौ विकेट गुमाएर एक सय ४९ रनमात्र बनाउन सक्यो । ठूलो विजयलक्ष्य पछ्याएको ओमानका माथिल्लो क्रमका कुनै पनि ब्याट्सम्यान लामो समय क्रिजमा टिक्न सकेनन् ।
युएई २०१६ पछि एसिया कपमा पुगेको हो । सन् २००४, २००८, २०१६ र २०२४ गरी उसले समग्रमा चार पटक एसिया कप खेल्नेछ ।