बिहिबार, कार्तिक २६ २०८३

बिहिबार, कार्तिक २६ २०८३

सुदूरपश्चिममा कांग्रेस र रेशमको प्रयास असफल, प्रदेश प्रमुखद्वारा मुख्यमन्त्रीमा नयाँ दाबी आह्वान

बुधबार, बैशाख ५ २०८१

काठमाडौं । सुदूरपश्चिम प्रदेशमा नेपाली कांग्रेस र रेशम चौधरी पक्षीय नागरिक उन्मुक्ति पार्टीले गरेको वैकल्पिक गठबन्धन निर्माणको प्रयास असफल भएको छ ।

कांग्रेस, नेकपा एकीकृत समाजवादी र रेशम पक्षीय नागरिक उन्मुक्ति पार्टीका सांसदहरूको समर्थनमा सुदूरपश्चिममा वैकल्पिक गठबन्धन अगाडि बढेको थियो ।

तर, नेकपा एमाले र माओवादी केन्द्रसहितको एकीकृत समाजवादीबीचको छलफलपछि बैकल्पिक गठबन्धनको प्रयास असफल भएको हो ।

पूर्व-सहमतिअनुसार सुदूरपश्चिम प्रदेश सरकारको नेतृत्व नेकपा एकीकृत समाजवादी (नेकपा एस) लाई दिन प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली तयार भएपछि गठबन्धनमा देखिएको संकट टरेको हो ।

पूर्व-सहमतिअनुसार सुदूरपश्चिम प्रदेश सरकारको नेतृत्व नदिएको भन्दै एमाले अध्यक्ष ओली र प्रधानमन्त्रीसमेत रहेएका माओवादी केन्द्रका अध्यक्ष प्रचण्डसँग असन्तुष्ट नेकपा एस मंगलबार अपराहृनदेखि सहमतिमा आएसँगै तत्कालका लागि केन्द्रीय सत्ता गठबन्धनमा देखिएको ठूलो समस्या हटेको हो ।

गत फागुन २१ गते बनेको एमाले सहितको गठबन्धनमा एकीकृत समाजवादीलाई सहभागी गराउँदा सात बुँदे सहमति भएको थियो ।

त्यसलाई पालना नगर्दा एकीकृत समाजवादीले वैशाख २ गतेदेखि प्रमुख प्रतिपक्ष दल नेकपा कांग्रेसको कित्तामा उभिने प्रयास थालेको थियो । जसले सुदूरपश्चिममा केन्द्रीय गठबन्धनविरुद्ध एकीकृत समाजवादी उभिएको थियो ।

मंगलबार दिनभर माओवादी, एमाले र एकीकृत समाजवादीका नेताहरू दौडधुप गरेका थिए ।

एकीकृत समाजवादीले सुदूरपश्चिम प्रदेशको नेतृत्व नपाए गठबन्धन छोड्ने चेतावनी दिएको थियो । उसले सुदूरपश्चिममा कांग्रेसको साथ लिएर नागरिक उन्मुक्ति पार्टीका लक्ष्मण किशोर चौधरीको पक्षमा समर्थन जनाएपछि केन्द्रको गठबन्धनसम्मै हलचल उत्पन्न भएको थियो । समाजवादीले गठबन्धन छोडेमा बागमती र लुम्बिनी प्रदेशका सरकारसमेत धरापमा पर्ने स्थिति थियो ।

केन्द्रमा पनि एकीकृत समाजवादीका १० सांसद छन् । उसले साथ छाड्दा गठबन्धन निकै कमजोर बन्छ । तर, नयाँ सहमतिसँगै त्यो संकट टरेको छ ।

गठबन्धनको संकट समाधानका लागि समाजवादीका नेता झलनाथ खनालले मंगलबार बिहान प्रधानमन्त्री प्रचण्डसँग छलफल गरेका थिए।

कांग्रेस, नेकपा एकीकृत समाजवादी र रेशम पक्षीय नागरिक उन्मुक्ति पार्टीका सांसद लिएर नाउपाका लक्ष्मण किशोर चौधरीले मुख्यमन्त्रीमा दाबी गरेका थिए भने, एमाले माओवादी र रन्जिता पक्षका सांसदहरूको समर्थनमा नाउपाका कैलाश चौधरीले मुख्यमन्त्रीमा दाबी पेश गरेका थिए । यी दुबै दाबी मङ्गलवार प्रदेश प्रमुखले खारेज गरेर नयाँ दाबी आह्वान गरेका छन् ।

पहिलो चरणमा दुबै दाबी खारेज भएपछि अब दोस्रो चरणको लागि वैकल्पिक गठबन्धनबाट दाबी नहुने सम्भावना रहेको बताइएको छ । वैकल्पिक गठबन्धनको एक घटक नेकपा एकीकृत समाजवादीले हिजै प्रदेश प्रमुख नजिर मियाँ समक्ष लक्ष्मण किशोर चौधरीलाई दिएको समर्थन फिर्ता दिएको पत्र बुझाएर प्रदेशमा वैकल्पिक गठबन्धन नरहेको सङ्केत गरेका थिए ।

प्रदेश प्रमुख मियाँले दुवै जनाको दाबी नपुगेको भन्दै पुन २ दिन समय दिएर फेरि दाबी पेश गर्न दलहरूलाई आह्वान गरेका छन् ।

प्रदेश प्रमुख नजिर मियाँले नाउपकै दुई जनाको दाबी परेको हुँदा निष्कर्षमा पुग्न नसकेको भन्दै दुई जनाकै दाबी अस्वीकृत गरेको पनि जनाएका छन् ।

संविधानको धारा १६८को २ बमोजिम ६ गते साँझ ५ बजेसम्म दाबी पेश गर्न आह्वान गरिएको छ ।

नयाँ सहमतिअनुसार गठबन्धनबाट एकीकृत समाजवादी संसदीय दलका नेता दीर्घ सोडारीले मुख्यमन्त्रीमा दाबी प्रस्तुत गर्ने बताइएको छ ।