काठमाडौं । भारतको चर्चित गायन रियालिटी शो ‘इन्डियन आइडल सिजन १४’ उपाधि दौडमा रहनुभएकी नेपाली गायिका मेनुका पौडेल प्रतिस्पर्धाबाट बाहिरिएकी छन् ।
मेनुकाले पनि आफ्नो सामाजिक संजालबाट आफ्नो इण्डियन आइडलको यात्रा टुंगिएको जनाएकी छन् । उनी लेख्छिन्- मेरो इण्डियन आइडलको यात्रा यहीँ सकिएको छ । तर, मेरो जीवनको सांगीतिक यात्रा भर्खर सुरु भएको छ ।’
उनीटप १० बाट टप ८ मा जाने क्रममा बाहिरिएकी हुन् । उनसँगै अर्का प्रतिस्पर्धी उत्कर्ष वाङखडे पनि बाहिरिए ।
इन्डियन आइडलको इतिहासमै पहिलो पटक एकैदिन दुई जनालाई इलिमिनेसन गरिएको हो ।
झापा हल्दीबारीका मेनुका दृष्टिविहीन हुन् । तर उनको गायिकी भने प्रशंसानीय छ । उनको गायिकीले इन्डियन आइडलमा प्रशंसा बटुलेको थियो ।
आइडलका निर्णायक तथा अतिथि कलाकारहरूले समेत उहाँको गायकीको मुक्त कण्ठले प्रशंसा गर्दै आएका थिए । उनलाई ‘दोस्रो लता मंगेश्कर’ भनी प्रशंसा गर्नेहरू पनि थिए ।