आइतबार, कार्तिक १५ २०८३

आइतबार, कार्तिक १५ २०८३

सिएनआई सर्वेक्षणले भन्यो : देशको अर्थतन्त्रमा सुधार आएको छैन

मंगलबार, पुष १७ २०८०

काठमाडौं । सरकार तथा नेपाल राष्ट्र बैंकले अर्थतन्त्रमा सुधार हुँदै गएको बताइरहँदा निजी क्षेत्रले भने अर्थतन्त्रमा सुधारको संकेत नदेखिएको दाबी गरेको छ ।

सोमबार आयोजित कार्यक्रममा सर्वेक्षण सार्वजनिक गर्दै सिएनआईले सरकार तथा राष्ट्र बैंकले अर्थतन्त्रमा सुधार आएको बताए पनि यथार्थमा सुधार आएको नदेखिएको बताएको छ ।

पछिल्लो दुई वर्षअघिबाट सुस्त बनेको अर्थतन्त्र पछिल्ला केही महिनायता सुधार आएको सरकारको दाबीलाई नेपाल उद्योग परिसंघ (सिएनआई) ले अस्वीकार गरेको हो । सरकारको तथ्यांक र जिकिरलाई जनस्तर, निजी क्षेत्र एवं सञ्चारमाध्यमले गरिरहेको अनुभव तथा तथ्य(विश्लेषणसँग मेल नखाइरहेको अवस्थामा अर्थतन्त्रको वास्तविकता आँकलन गर्न सिएनआईले उद्योग व्यवसायस्तरमा एक सर्वेक्षण गरेको थियो ।

सर्वेक्षणअनुसार अघिल्लो आर्थिक वर्षको तुलनामा चालु आर्थिक वर्षको पहिलो त्रैमासमा अर्थतन्त्रमा सुधार आएको देखिँदैन । समग्र बजार माग खस्किएको देखिएको छ । कच्चा पदार्थको मूल्य निरन्तर उकालो लागिरहेको छ । उद्योगको कच्चा पदार्थको आयातमा समेत गिरावट आएको देखिन्छ ।

औद्योगिक उत्पादनको समग्र बजार माग अघिल्लो वर्ष २८.२८ प्रतिशतले घटेकोमा चालु आर्थिक वर्षको सोही अवधिमा थप १२.०६ प्रतिशतले घटेको छ भने २०७८–०७९ को सोही अवधिको तुलनामा २०८०–०८१ मा उद्योगहरूको समग्र माग कुल ३६.९३ प्रतिशतले घटेको छ ।

सिएनआईले आर्थिक वर्ष २०७९र०८० मा मुलुकको अर्थतन्त्रको वास्तविक अवस्थाको पहिचान गर्न अघिल्लो आर्थिक वर्षमा समेत एक सर्वेक्षण गरेको थियो । सोही सर्वेक्षणको दोस्रो संस्करणका रूपमा यस वर्ष पनि अघिल्लो र चालु आर्थिक वर्षको पहिलो त्रैमासको तुलनात्मक अध्ययन सर्वेक्षण गरिएको जनाएको छ । पछिल्लो सर्वेक्षणमा विगत तीन आर्थिक वर्षको पहिलो त्रैमासको तुलनात्मक अध्ययन गरिएको छ । जसअनुसार औद्योगिक उत्पादनको समग्र बजार माग अघिल्लो वर्ष २८.२८ प्रतिशतले घटेकोमा चालु आर्थिक वर्षको सोही अवधिमा थप १२.०६ प्रतिशतले घटेको देखिएको छ ।

आर्थिक वर्ष २०७८–०७९ को सोही अवधिको तुलनामा २०८०–०८१ मा उद्योगहरूको समग्र मागमा कुल ३६.९३ प्रतिशतले संकुचन आएको छ भने उद्योगको कारोबार रकम अघिल्लो वर्ष २४.९४ प्रतिशतले घटेकोमा चालु आर्थिक वर्षको सोही अवधिमा थप ७.४६ प्रतिशतले घटेको छ । जुन आर्थिक वर्ष २०७८–०७९ को तुलनामा कुल ३०.५४ प्रतिशतले घटेको हो ।

अर्थतन्त्रको प्रतिकूल अवस्थाका कारण गत वर्ष नै उद्योगी–व्यवसायीको मनोबल कमजोर बनेको देखिएको थियो, जुन चालु वर्षसमेत यथावत् रहेको देखिएको छ । अघिल्लो आर्थिक वर्षमा ६९.४४ प्रतिशत उद्योगी–व्यवसायीले आफ्नो लगानीका योजना स्थगित गरेको जनाएका थिए भने चालु आर्थिक वर्षको पहिलो त्रैमासमा ५५.३२ प्रतिशत उद्योगी व्यवसायीले लगानीका योजना स्थगित गरेको जनाएका छन् ।

क्षेत्रगतरूपमा सिमेन्ट उत्पादकहरूले सर्वेक्षणमा जनाएअनुसार उद्योगको समग्र माग अघिल्लो वर्षको तुलनामा थप ७.३६ प्रतिशतले घटेको छ । अघिल्लो वर्षको सोही अवधिमा ४०.१७ प्रतिशतले घटेको थियो । आर्थिक वर्ष २०७८–०७९ को तुलनामा हाल सिमेन्टको समग्र माग ४४.५७ प्रतिशतले घटेको देखिएको छ । यस्ता उद्योगको कारोबार रकम अघिल्लो वर्ष ३९ प्रतिशतले घटेकोमा चालु आर्थिक वर्षको सोही अवधिमा थप ९.५४ प्रतिशतले घटेको छ ।

आर्थिक वर्ष २०७८र०७९ को तुलनामा २०८०र०८१ मा कारोबार रकममा कुल ४४.८२ प्रतिशतले घटेको छ । अघिल्लो आर्थिक वर्षमा ८३.३३ प्रतिशतले सिमेन्ट उत्पादकले लगानीको योजना स्थगित गरेको जनाएका थिए भने चालु आर्थिक वर्षको पहिलो त्रैमासमा ६२.५० प्रतिशतले लगानी योजना स्थगित गरेको जनाएका छन् ।

निर्माण व्यवसाय क्षेत्रका उद्योगी व्यवसायीले सर्वेक्षणमा दिएको प्रतिक्रियाअनुसार सो क्षेत्रको समग्र माग अघिल्लो वर्षको तुलनामा थप १६.२० प्रतिशतले घटेको छ । अघिल्लो वर्ष सोही अवधिमा ४३.४३ प्रतिशतले घटेको थियो । आर्थिक वर्ष २०७८र०७९ को तुलनामा २०८०र०८१ मा सो क्षेत्रको समग्र माग कुल ५२।५९ प्रतिशतले घटेकोे छ भने उद्योगको कारोबार रकम अघिल्लो वर्ष ४३.७१ प्रतिशतले घटेकोमा चालु आर्थिक वर्षको सोही अवधिमा थप २०.८० प्रतिशतले घटेको छ ।

आर्थिक वर्ष २०७८र०७९ को तुलनामा आर्थिक वर्ष २०८०र०८१ मा सो क्षेत्रको समग्र कारोबार रकम कुल ५५.४२ प्रतिशतले घटेको देखिएको छ भने उद्योगमा ३३.३३ प्रतिशतले लगानी स्थगित गरेको जनाएका छन् । गत वर्ष ५३।८५ प्रतिशत उद्योगी व्यवसायीले लगानी विस्तार योजना स्थगन गरेका थिए ।

अघिल्लो वर्षको पहिलो त्रैमासमा एफएमसिजी क्षेत्रको माग २.५० प्रतिशतले बढेकोमा यस वर्ष १७.७० प्रतिशतले घटेको छ । यसरी अघिल्लो वर्ष सकारात्मक रहेको क्षेत्रसमेत यस वर्ष नकारात्मक देखिएको छ । आर्थिक वर्ष २०७८–०७९ को तुलनामा २०८०र०८१ मा उक्त क्षेत्रको समग्र माग कुल १५.६४ प्रतिशतले घटेको छ भने सो क्षेत्रको कारोबार रकम अघिल्लो वर्ष १२.२५ प्रतिशतले बढेकोमा चालु आर्थिक वर्षको सोही अवधिमा १८.५० प्रतिशतले घटेको छ ।

आर्थिक वर्ष २०७८/०७९ को तुलनामा २०८०र०८१ मा समग्र कारोबार रकम ८.५२ प्रतिशतले घटेको छ । सर्वेक्षणअनुसार अघिल्लो आर्थिक वर्षको पहिलो त्रैमासमा ४१.६७ प्रतिशतले उद्योगी तथा व्यवसायीले लगानीको योजना स्थगित गरेको जनाएका थिए भने चालु आर्थिक वर्षको पहिलो त्रैमासमा ५० प्रतिशतले लगानी योजना स्थगित गरेको जनाएका छन् ।