शुक्रबार, साउन १५ २०८३

शुक्रबार, साउन १५ २०८३

सत्ता गठबन्धनमा कोशी 'इफेक्ट'

चिर्कटो सहमतिको धोतीले ढाकिएको ‘लाज’ मन्त्रिपरिषद् गठनमा नाङ्गियो

मंगलबार, असोज ३० २०८०

काठमाडौं । कोशी प्रदेशमा नेपाली कांग्रेसका शेखर कोइरालाले अघि सारेका केदार कार्की मुख्यमन्त्री भएसँगै सत्ता गठबन्धनमा पराकम्प गएको छ ।

अझ देउवा नेतृत्वको नेपाली कांग्रेसमा यस घटनालाई २०५१ सालयताको सबैभन्दा ठूलो विद्रोह मानिएको छ ।  पार्टी नेतृत्वको एकलौटी निर्णयले आजित कांग्रेस संस्थापनइतका नेतादेखि कार्यकर्ता समेतले शेखरको उक्त कदमको खुलेरै प्रशंसा समेत गरेका छन् ।

सत्ता गठबन्धनको निर्णय विपरित कोशीमा कांग्रेसबाट विद्रोह गर्दै एमालेको समर्थनमा कार्की मुख्यमन्त्री बनेपछि सत्ता गठबन्धनदेखि कांग्रेसमा खैलाबैला मच्चिएको छ । कार्की त्यतिमा मात्र रोकिएनन् आफूले सपथ लिनु अघि आफूलाई मुख्यमन्त्री बनाउने कांग्रेसका आफ्नै समूहका एक जना र एमालेका एक जनालाई मन्त्रीको सपथ गराएपछि गठबन्धनमा झन ठूलो पराकम्प गएको छ । जसको पीडा समाजवादी मोर्चाको धनगढी सभामा प्रधानमन्त्री प्रचण्डले हिजाेमात्र पोखेका थिए।

हतार हतार शेखरलाई बालुवाटार बोलाएर चिर्कटोको धोतीले लाज छोपेका देउवा र प्रचण्डलाई बालुवाटारकाे सहमतिविरुद्ध मुख्यमन्त्री कार्कीले एमालेसहितको मन्त्रीमण्डल बनाएर कोशीमा धोतीपाटा नै खुस्काइ दिए ।

एमालेले कोशीबाट चालेको कदमले अन्य प्रदेश हुँदै केन्द्रमा समेत उथलपुथल ल्याउने अनुमान हुन थालेका छन् । अझ प्रमुख प्रतिपक्ष दलका नेताहरु प्रचण्ड नेतृत्वको सरकारको आयु नै तोक्न थालेका छन् ।

यसैबीच कोशी प्रदेशका मुख्यमन्त्री कार्कीले बुधबार प्रदेशसभाबाट विश्वासको मत लिने भएका छन् । शनिबार नियुक्त भई आइतबारमात्रै शपथ लिएका मुख्यमन्त्री कार्कीले हतार–हतार आउँदो बुधबार नै विश्वासको मत लिन लागेपछि कांग्रेसको शीर्ष नेतृत्वदेखि प्रचण्डसमेत सशंकित छन् ।

कार्की प्रदेश सरकारको अन्तिम विकल्प संविधानको धारा १६८ को उपधारा ५ अनुसार मुख्यमन्त्रीमा नियुक्त भएका हुन् । यो धाराअनुसार नियुक्त हुँदा ३० दिनभित्र विश्वासको मत लिनुपर्ने व्यवस्था भए पनि कोशीमा देखिएको राजनीतिक उतारचढावका कारण उनले बुधबार नै विश्वासको मत लिन लागेका हुन् ।

कांग्रेस नेता कार्कीले पार्टीमा विद्रोह गरेर एमालेका ३९ जना सांसदको समर्थनमा मुख्यमन्त्री बनेका हुन्। उनले एमालेका उपनेता रामबहादुर मगर र कांग्रेसमा विद्रोह गरेका शम्शेर राईलाई विनाविभागीय मन्त्री नियुक्त गरेका छन् ।

मुख्यमन्त्री केदार कार्कीले विश्वासको मत लिने प्रयोजनका लागि बुधबार कोशी प्रदेशसभा बैठक बोलाइएको छ ।

यता लाजै पचाएर नवनियुक्त मुख्यमन्त्री केदार कार्कीलाई माओवादीले समेत विश्वासको मत दिने भएको छ । बुधबार प्रदेशसभाबाट विश्वासको मत लिन लाग्नुभएका मुख्यमन्त्री कार्कीलाई माओवादीले पनि विश्वासको मत दिने भएको हो ।

माओवादी केन्द्रका प्रदेश अध्यक्ष हर्कबहादुर नेम्बाङले कार्कीलाई पार्टीले विश्वासको मत दिने जानकारी दिए । यससँगै गठबन्धनबाट विद्रोह गरेर एमालेको समर्थनमा कोशी प्रदेशको मुख्यमन्त्री बनेका कार्कीले राप्रपाबाहेकका सबै दलको विश्वासको मत पाउने सम्भावना बढेको छ ।

कार्कीलाई मुख्यमन्त्री बनाउन एमालेको सिंगो ३९ सांसद र कांग्रेसका विद्रोही आठ सांसदले समर्थन गरेका थिए ।

सत्ता गठबन्धनको निर्णयविपरीत कार्की आफूसहित कांग्रेसका आठ सांसदलाई विद्रोह गराएर एमालेको समर्थनमा शनिबार मुख्यमन्त्री नियुक्त भएका हुन् ।

प्रचण्ड, देउवा र शेखरबीच भएको सम्झौताको चिर्कटोप्रति गगन–विश्वको आपत्ति

कोशी कांग्रेसको विद्रोहकै कारण यता गठबन्धनको अर्को ठूलो दल नेपाली कांग्रेसमा झन विवाद सृजना भएको छ । संस्थापन इतरका दुई महामन्त्री गगन थापा र विश्वप्रकाश शर्मा कोशीमा देखिएको घटनाको सम्पूर्ण जिम्मेवारी सभापति शेरबहादुर देउवा र शेखर कोइरालाले लिनु पर्ने भन्दै तर्किएका छन् । अझ उनीहरुले बालुवटारमा भएको हस्ताक्षरको चिर्कटो कबुलियतको औचित्यमाथि समेत प्रश्न गरेका छन् ।

सोमबार देउवाले उपसभापतिसहित दुई महामन्त्रीको वैठकमा आफूहरुले आपक्ति जनाएको बैठक पछि संचारकर्मीसँगको कुराकानीमा विश्वप्रकाश शर्माले बताएका थिए ।

धुम्बाराहीमा सभापति, उपसभापति र महामन्त्रीसहित सोमबार साँझको बैठकमा महामन्त्रीद्वयले बालुवाटारमा शनिबार तीन नेताबीच भएको ‘चिर्कटो सम्झौता’प्रति प्रश्न उठाएका हुन् । सभापति देउवाले कोशीमा विकसित राजनीतिक घटनाक्रम र समसामयिक राजनीतिक घटनाक्रमबारे छलफल गर्न बैठक राखेका थिए ।

उक्त बैठक अधिकांश समय कोशी घटनामै केन्द्रित रहेको थियो ।