आइतबार, कार्तिक २२ २०८३

आइतबार, कार्तिक २२ २०८३

कोशीमा हस्ताक्षर सनाखत सकियो, के गर्लान् प्रदेश प्रमुख खापुङले ?

शनिबार, असोज २७ २०८०

विराटनगर । कोशी प्रदेशमा मुुख्यमन्त्री पद नियुक्तिका लागि पेश गरिएका हस्ताक्षर सनाखतको कार्य सम्पन्न भएको छ । प्रदेश प्रमुखको कार्यालय विराटनगरमा प्रदेश प्रमुख परशुराम खापुङको समुस्थितिमा सनाखत कार्य सम्पन्न भएको हो ।

नेपालको संविधानको धारा १६८ को उपधारा (५) बमोजिम नेपाली कांग्रेसका कोशी प्रदेशसभा सदस्य केदार कार्कीले मुख्यमन्त्री पदका लागि ४७ प्रदेशसभा सदस्यसहितको हस्ताक्षरसहितको पत्र प्रदेश प्रमुखको कार्यालयमा बुझाएका थिए ।

सोही हक दाबी गर्दै नेकपा (माओवादी केन्द्र) संसदीय दलका नेता इन्द्रबहादुर आङ्बोले पनि ४७ जनाकै हस्ताक्षरसहित माग दाबी गर्दा प्रमाणीकरणका लागि प्रदेश प्रमुख खापुङले स–शरीर प्रमाण खुल्ने प्रमाणपत्रसहित कार्यालयमा उपस्थित भई सनाखत गर्न गए राति सूचना जारी गरेका थिए ।

नेकपा (एमाले) का ३९ तथा कांग्रेसका आठ प्रदेशसभा सदस्यको हस्ताक्षर सनाखत गरिएको हो । कांग्रेसका कार्कीसहित इन्दिरा थापा, शम्शेर राई, लीलाकुमारी राई, गोविन्द गिरी, सुनिताकुमारी गुरुङ, रामकुमार खत्री र मानबहादुर लिम्बूले प्रदेश प्रमुखको कार्यालयमा सनाखत गरेका छन्।

सत्ता गठबन्धनले कोशीको मुख्यमन्त्री नियुक्ति तत्काल नगर्न प्रदेश प्रमुखलाई केन्द्रबाटै दबाब दिएपछि हिजोको नियुक्ति टरेको थियो । हिजो नै एमालेसहितका कांग्रेसका ८ सांसद सशरीर उपस्थित भएर आग्रह गर्दा पनि प्रदेश प्रमुख खापुङले आजको लागि सनाखतको समय तोकेका थिए ।

केन्द्रबाटै गठबन्धनका नेताहरुले शनिबार बिहानसम्म सहमतिको प्रयास भइरहेको भन्दै प्रदेश प्रमुख खापुङलाई समय घर्काउन दबाब दिएका थिए । सोही अनुसार उनले आफैंले दिएको समयसीमा टारेका थिए ।