काठमाडौं । प्रधानमन्त्री प्रचण्डले सरकारको नेतृत्व छाड्नुपर्ने कांग्रेस संस्थापन इतर पक्षका नेताहरुको अभिव्यक्तिलाई लिएर कांग्रेसको अनुशासन समितिमा कुरा उठ्न थालेको छ ।
समितिका संयोजक समेत रहेका नेता आनन्दप्रसाद ढुंगानाले नेपाली रेडियो नेटवर्कको कार्यक्रम ‘नेपाली बहस’का लागि पत्रकार ऋषि धमलासँगको कुराकानीमा यस्तो खुलासा गरेका हुन् । ढुंगानाले कांग्रेसका १५ केन्द्रीय सदस्यबारे उजुरी परेको र आवश्यक परेको खण्डमा स्पष्टीकरण सोधिने बताए ।
पछिल्लो समय विशेष गरेर कांग्रेस संस्थापन इतरका नेता डा. शेखर कोइरालाले सरकार सरकारको बाटो खाली गरिदिन प्रधानमन्त्री पुष्पकमल दाहालसँग आग्रह गरेका छन्।
शनिबार काठमाडौंमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै उनले सरकारको देश अप्ठ्यारो स्थितिबिाट अघि बढिरहेको भन्दै सरकार सच्चिन आवश्यक रहेको र सच्चिन नसके बाटो खालि गरिदिन आग्रह गरेका थिए ।
उनले देशमा जताततै अराजकता रहेको उल्लेख गर्दै यस परिस्थितिलाई कांग्रेस बाहेक अरुले सम्हाल्न नसक्ने दाबी गरे। उनले देशको प्रधानमन्त्रीले पार्टीको सभापति झैँ दुई लाख मान्छे सडकमा उतार्छु, २०८४ मा माओवादीलाई जिताउ म जातीय राज्य दिन्छु जस्ता अराजक अभिव्यक्ति दिएको बताए।
यस्तै कांग्रेसका महामन्त्री गगन थापा, केन्द्रीय सदस्य प्रदीप पौडेललगायत वर्तमान सरकारको आलोचना गर्ने गरेका छन् । उनीहरुले आफ्ना पार्टीका मन्त्री फिर्ता बोलाउनु पर्ने समेत बताउन थालेका छन् ।