काठमाडौं । भारती मानन्धरले आफ्नो श्रीमान् चेतन मानन्धरको हत्या गर्ने योगराज ढकाल (रिगल) लाई सरकारले दिएको कैद मिनाहाविरुद्ध अनशन सुरु गरेकी छन् ।
माइतीघर मण्डलामा बुधबार बिहानदेखि अनशन सुरु गरेकी भारतीले न्याय नपाएसम्म घर नफर्किने बताएकी छन् ।
भारतीले आममाफी निर्णयविरुद्ध सर्वोच्च अदालतमा रिटसमेत दायर गरेकी छन् । आज उनको मुद्दाको प्रारम्भिक सुनुवाइ छ ।
रिगल विरुद्ध २८ असार २०७२ मा नेपालगञ्जको धम्बोजी चोकमा चेतनमाथि खुँडा प्रहार गरी हत्या गरेको अभियोग थियो ।
उनलाई जिल्ला अदालत बाँकेका तत्कालीन न्यायाधीश विष्णु सुवेदीको इजलासले २०७६ साल वैशाखमा दोषी ठहर गर्दै सर्वस्वसहित जन्मकैदको सजाय सुनाएको थियो ।
संविधान दिवसको अवसरमा सरकारको सिफारिसमा राष्ट्रपति रामचन्द्र पौडेलले कैद मिनाहा गरेपछि रिगल छुटेका छन् । वर्षौं लगाएर पाएको न्याय छिन्ने अधिकार राष्ट्रपतिलाई नभएको भारतीको भनाइ छ ।