बुधबार, साउन १३ २०८३

बुधबार, साउन १३ २०८३

कांग्रेस केन्द्रीय समिति बैठक बस्दै, यस्ता छन् एजेण्डा

बिहिबार, असोज ४ २०८०

काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय समिति बैठक आज बस्दै छ । बैठक पार्टी केन्द्रीय कार्यालय सानेपामा दिउँसो १ बजे बस्नेछ ।

गत साउन २ देखि १० गतेसम्म बसेको बैठकबाट नै पार्टीको केन्द्रीय समिति बैठकबाट नै पार्टी विधानअनुसार दुई महिनामा नियमित बैठक बोलाउने सभापति शेरबहादुर देउवाले प्रतिबद्धता गरेअनुसार केन्द्रीय समिति बैठक बस्न लागेको हो ।

आजदेखि सुरु हुने केन्द्रीय समितिको बैठकलाई महासमिति बैठकको तयारीका रूपमा लिएको छ । महासमिति बैठकमा प्रस्तुत हुने राजनीतिक, सांगठनिक, आर्थिकरलेखा लगायतका विविध प्रतिवेदनमाथि केन्द्रीय समिति बैठक केन्द्रित हुने नेताहरूको भनाइ छ । कांग्रेसले आगामी मंसिर १३ देखि १५ गतेका लागि महासमिति बैठक बोलाएको छ । २०७८ मंसिर–पुस सम्पन्न १४औँ महाधिवेशनमा नेतृत्व मात्र चयन गरेको कांग्रेसले आगामी महासमिति बैठकबाट पार्टीको नीति तय गर्ने बताइएको छ ।

बैठकमा गत साउन २० देखि ३० गतेसम्म भएको पार्टीको आन्तरिक विशेष अभियान, पोलिसी ह्याकाथन र बिपी साहित्य महोत्सवको समीक्षा हुने जनाइएको छ । आन्तरिक विशेष अभियानमा कांग्रेसले ७७ जिल्लामै केन्द्रीय प्रतिनिधि खटाएको थियो । कांग्रेसले युवालाई नीति निर्माणमा जोड्ने उद्देश्यले ‘गिग इकोनोमी’ र ‘क्लाइमेट एक्सन’ विषयमा पोलिसी ह्याकाथन आयोजना गरेको थियो । यसअघि असोज २ गते बस्ने भनिएको उक्त बैठक असोज ४ गतेका लागि सारिएको थियो ।

बैठकमा सरकारको समीक्षा र पार्टीबाट सरकारमा सहभागी मन्त्रीहरूको कार्यसम्पादनका विषयमा पनि छलफल हुने बताइएको छ । कांग्रेसभित्र आफैँ सहभागी सरकारका पछिल्ला काम कारबाहीप्रति असन्तुष्टि बढ्दै गइरहेको छ ।

बैठकमा पार्टीका विभागहरूलाई पूर्णता दिनेबारे पनि छलफल हुने बताइएको छ । साउन पहिलो साता बसेको केन्द्रीय समितिको बैठकले भदौ १५ सम्ममा विभागलाई पूर्णता दिने निर्णय गरिएकोमा कार्यान्वयन हुन सकेको छैन ।

यसैबीच, केन्द्रीय समितिको पूर्वसन्ध्यामा इतर पक्षका नेता डा।शेखर कोइरालाले पार्टी सभापति शेरबहादुर देउवासँग भेटवार्ता गरेका थिए । पार्टीको नियमित केन्द्रीय कार्यसमितिको बैठकअघि पार्टी र राष्ट्रिय राजनीतिमा पार्टीले गरेका निर्णय र समसामयिक राजनीतिक विषयमा सभापति देउवाको ध्यानाकर्षण गराउन नेता कोइराला आफूनिकट पदाधिकारीहरूसहित धुम्बाराही पुगेर सभापति देउवासँग भेटवार्ता गरेका थिए।

भेटवार्ताको क्रममा नेता कोइरालाले पार्टी सञ्चालनका क्रममा सभापति देउवाले निरन्तर एकलौटी रूपमा निर्णय गर्ने र विधानविपरीत कार्य गर्ने गरिरहेको भन्दै असन्तुष्टि पोखेका थिए ।