सत्यतथ्य नबुझि हचुवाका भरमा कसैलाई दोषी करार गर्न हाम्रो समाज अगाडि छ । जसका कारण सत्य अर्कैतिर मोडिन पनि सक्छ । तथ्य नखोजी ‘हो मा हो’ मिलाउँदै दगुर्ननाले निर्दोष फस्ने मात्र होइन दोषी उम्कने र सत्य बाहिर आउन नसक्ने हुनसक्छ । जसको एक मात्र उदाहरण हो कञ्चनपुरकी निर्मला हत्या प्रकरण । यतिका बर्ष वितिसक्दा पनि उनको हत्यारा पत्ता लाग्न नसक्नुकाे वास्तविक कारण के हाेला ? सो समयमा प्रहरी अनुसन्धान र सरकारलाई चुनौति दिनेहरु नै त्यसपछि पटक पटक सरकारमा भएर पनि सत्य किन बाहिर आउन सकेको छैन त ? प्रहरी र तत्कालिन सरकारले सत्य तोडमोड गर्यो भन्ने संचारकर्मी रवि लामिछाने नै गृहमन्त्री हुँदासमेत तथ्य बाहिर ल्याउन उनलाई कस्ले रोक्यो ? प्रतिपक्षमा रहेको कांग्रेस समेत त्यपछि पटक पटक सरकारमा रह्यो । बालकृष्ण खाँण गृहमन्त्री बने अहिले पनि उ सरकारमा छ । तर पनि निर्मलाको हत्यारा पत्ता किन लाग्दैन । उनले किन न्याय पाइरहेकी छैनन् ।
यसर्थ सत्य नबुझि रिसिबीकै कारण कसैलाई गलत दोष लगाउँदै घटनालाई अर्कोतिर मोड्नेहरुबाट सजक नहुने हो भने सत्यपत्ता लगाउन समस्या हुनसक्छ । जसको अर्को उदाहारण ६१ किलो सुन प्रकरण पनि हो । सुन समाउन नपाउँदै व्यवसायी दीपक मलहोत्रालाई मुछियो, त्यतिमात्र कहाँ हो र मलहोत्रालाई जोडेर एमाले अध्यक्ष केपी शर्मा ओलीकै सम्लग्नता भए जसरी समाचार बनाइयो । वास्तविकता ढाकछोप गर्न, सत्य बंग्याउन मिडिया ट्रायल गरियो । तर वास्तविकता वर्तमान सरकारका नेताहरुको अघिपछि सत्य भएको थाहा पाएपछि अहिले तैँ चुप मै चुपको अवस्था छ । अनुसन्धान एक देखावटी मात्र हुनेमा जनता पक्का भइसकेका छन् ।
पछिल्लो पटक राजधानी काठमाडौंमै पनि त्यस्तै प्रकारको एउटा घटना भयो । गत शुक्रबार राति भएको तीनकुने सामूहिक हत्या प्रकरण । तीनकुने हत्या काण्डमा एकजना मित्र बोल्न पाइयो भन्दैमा भाइरल हुने मनसायले बोल्दै थिए । उनले भन्दै थिए हत्यारा बालकृष्ण सिवाकोटी हुन् हामी उनलाई मुद्दा हाल्छौ, उनले अर्को कुरा पनि साथसाथै जोडे बालकृष्ण सिवाकोटी नेपालकै सबैभन्दा धनी व्यक्ति हुन् । सोही भिडियो यता मज्जाले दोषीलाई कार्वाही हुनुपर्छ भन्दै धेरै जसो काङ्ग्रेस माओबादीको लगायत हाल गठबन्धन भनिएको टिमले फटाफट सेयर गरिरहेका थिए । घटनाको छानवीन हुन बाकी नै थियो सत्य र तथ्य बाहिर आउन बाँकी नै थियो।
त्यो भन्दा अगाडी नै बालकृष्ण सिवाकोटीको छिमेकी दाजुभाइहरुले नै उहाँको चरीत्र हत्या गरिसकेका थिए । यो चुनाबको समय थिएन साथीहरू यो पुर्ण रुपमा राजनीतिक प्रतिशोध साँध्ने र पोख्ने बेला थिएन । बालकृष्ण शिवाकोटीले लगभग २०–२२ वर्ष उक्त परिवारलाई रोजगार दिएर एउटा आफ्नै परिवार कै दाजोमा राखेर सोही व्यवहार गर्दै आएको धेरैले भन्ने गरेका छन् । यहाँ जोड्नै खोजेको कुरा चै के हो भने नेपालमा व्यवसाय गर्न सबैलाई छुट छ लगानी गर्न पैसा कमाउन सक्षम र धनी हुन सबैलाई छुट छ । नेपालको कानुनले बालकृष्ण शिवाकोटीलाई मात्र बिजनेस गर पैसा कमाउ अरुले कमाउन पाउँदैन भनेको पक्कै छैन । गत संघीय चुनाबदेखि नै बालकृष्ण शिवाकोटीको चरीत्रलाई पैसासँगै जोडेर प्रतिपक्षी लगायतका साथीहरू बारम्बार त्यसलाई हतियार बनाएर बारम्बार उहाँको चरित्र हत्या गरेको पाइयो । त्यो त ठिकै छ तर भर्खरको घटनामा पनि बालकृष्ण सिवाकोटी नेपाल कै धनी व्यक्ति भनेर उहाँलाई पैसासँग नै तुलना गरेर उहाँको व्यत्तित्व माथी मज्जाले प्रहार भयो ।
बालकृष्ण शिवाकोटी धनी हुँदै गर्दा उहाँले सुनखानी सुन्द्रावती लगायत ठाउँहरुको स्रोत र साधनको गलत उपभोग गरेको जानकारी पाएको छैन कि बालकृष्ण शिवाकोटीले आफु धनी हुँदा कुन कानुन बिपरित काम गरे ? यदि नेपाल सरकारको नियम कानुनमा बसेर देशको पद्धतिलाई मानेर कसैले पैसा कमाएको छ भने त्यसमा अरुले यसरी आपत्ती जनाउनु पर्छ ? यदि आफु गरिव भएको पिर डर हो भने नियम कानुनमा बसेर व्यवसाय गर्नुहोस् आफै लगानी गर्नुहोस कल कारखाना खोल्नुहोस होइन भने अरुले बारम्बार मिहेनत गरेर सङ्घर्ष गरेर कामएको पैसालाई हरेक कुरामा राजनीतिको कालो चस्मा बाट नहेर्नु होस् ।
पार्टी फरक होला बिचार फरक होला तर कुनै शोकमा पिडामा राजनिती प्रतिशोध साँधेर गलत आरोप लगाउनु र कसैको व्यक्तिगत चरीत्र हत्या गर्नु कति पनि जायज हुँदैन । सत्य तथ्य लुकाएर ढाकछोप गरेर लुकाउन सक्ने कुरा होइन । बालकृष्ण शिवाकोटीले धेरै पैसा खर्च गर्दा गर्दै चुनाब हारेका थिए होला तर, यसो भन्दै गर्दा चुनाब जित्नेहरुले केहीले मत लुटेर नै चुनाब जितेको तथ्य हामीले भुल्नु हुँुदैन । त्यसैले व्यवसाय गरौं लगानी गरौं पैसा आर्जन गरौं मिहेनत गरौं धनी बनौं त्यो छुट तपाई हामी सबैलाई छ । तर सत्य तथ्य नबुझी नबोलौ मिडियामा भाइरल नै हुने मनसायले कसैको चरीत्र हत्या नगरौं । मान्छे मरेको बेला शोक परेको बेला त्यसलाई राजनीतिकरण नगरौं। आफ्ना पार्टीको र समर्थक को गलत कुरा पनि सेयर नगर्ने तर बिपक्षीमाथि आरोप लाग्नसाथ तथानाम लेखेर सेयर नगरौं प्रमाणीत भएको कुरा मात्र सेयर गरौं ।
राजनीति जित्नको लागि नै गर्ने हो तर आफुले जित्दै गर्दा त्यहाँ न्याय मर्नु हुँदैन र नैतिकता गुमाउनु हुँदैन भन्ने हेक्का राखौं । वैचारिक रुपमा पार्टीगत रुपमा जो जता जुन ठाउँमा भए पनि बेथिति र खराव प्रबृत्तिको बिरुद्धमा बोल्ने र राम्रोलाई राम्रो नराम्रोलाई नराम्रो भन्न सक्नुपर्छ चाहे जुन पार्टी र जुन समूहको किन नहोस् ।
प्रहरीका अनुसार यस्तो थियो घटना
श्री दिव्य सः मिल तथा काष्ठ उद्योगमा शुक्रबार राति भएको हत्याकाण्ड मोटरसाइकलको ठक्करपछि भएको विवादको बदला लिन खोज्दा घटेको प्रहरी अनुसन्धानबाट खुलेको छ।
काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयका एसएसपी सोमेन्द्रसिंह राठौरका अनुसार सिन्धुपाल्चोकको बाह्रबिसे नगरपालिका ९ का २३ वर्षीय सञ्जय भण्डारीले शुक्रबार राति ४ जनाको हत्या गरेको प्रारम्भिक अनुसन्धानबाट खुलेको हो।
भण्डारीले गत भदौ २९ गते नै विशाल राईलाई सिध्याइदिन्छु भन्दै आफू बस्ने गरेको दिदीको कोठाबाट उक्त खुकुरी झोलामा हाली पछाडिपट्टिको बन्द गेटबाट माथि चढेर समिलमा प्रवेश गरेका थिए । त्यसपछि राई बस्ने कोठामा गई हेर्दा नदेखेपछि कोठाको सोफामा बसे । केही समयपछि विशाल राई आएर विवाद भई कुटपिट गरेपछि भण्डारीले खुकुरीले हानेर हत्या गरेको बयान दिएका प्रहरीले जनाएको छ ।
उक्त घटना हुँदा सुभद्रा भुजेलले देखेपछि कराएको थाहा पाएर उनले घटना बाहिर ल्याउने डरले भण्डारीले सुभद्राको पनि हत्या गरेको र सोही समयमा पूर्णबहादुर भुजेल घटनास्थलमा पुगी फोन गर्न लागेको जस्तो देखेपछि उनलाई र त्यही बेलै आइपुगेकी उनकी श्रीमती अम्बिकाको पनि हत्या गरेको प्रहरीले जनाएको छ ।
प्रहरीका अनुसार जन्मजात बोल्न नसक्ने भण्डारी सिन्धुपाल्चोक बाह्रबिसेमा ८ कक्षासम्म अध्ययन गरी १२ कक्षासम्म काठमाडौँमा अध्ययन गरेको खुल्न आएको छ । सो घटना अनुसन्धान सम्बन्धमा साङ्केतिक भाषाविज्ञ झिकाई थप सोधपुछ गरिएको सोही क्रममा निजले आफूले सम्पूर्ण घटना एक्लै घटाएको स्वीकार गरेको र थप अनुसन्धान कार्य जारी रहेको प्रहरीले जनाएको छ ।
घटनापछि सोही घरमा रहेका दीपन्द्र राईले देखेपछि उनी प्रहरीलाई खबर गर्न जाने क्रममा ट्याक्सी चढ्न लाग्दा प्रहरी घटनास्थलमा पुगेको थियो । रगत लत्पतिएको देखेपछि उनलाई प्रहरीले नियन्त्रणमा लिएको थियो । अनुसन्धानमा उनी निर्दोष देखिएको राठौरले बताए ।
भदौ २९ गते राति ११ः५५ बजेको समयमा उक्त घटना भएको थियो । काठमाडौँ महानगरपालिका–३२ तीनकुनेस्थित गैह्रीगाउँस्थित दिव्य समिलमा कुमार भन्ने पूर्णबहादुर भुजेल, उनी श्रीमती अम्बिका भुजेल, कुमारकी आमा सुभद्रा भुजेल र मोरङ बेलबारी स्थायी घर भएका नवीन भन्ने विशाल राईको हत्या भएको थियो । उक्त हत्या प्रकरणको अनुसन्धानका लागि प्रहरीले राठौरकै नेतृत्वमा पाँच सदस्यीय अनुसन्धान समिति गठन गरेको थियो । सोही समितिले घटनाको सफल अनुसन्धान गरेको हो ।