रुपन्देही । नेकपा (एमाले)को लुम्बिनी प्रदेश कमिटीको नेतृत्व चयनका लागि मतदान सुरु भएको छ । बुटवलको अन्तर्राष्ट्रिय सम्मेलन केन्द्रमा मतदान सुरु भएको हो ।
अध्यक्ष केपी शर्मा ओलीले सर्वसम्मतबाटै नेतृत्व चयन गर्न दिएको निर्देशन विपरित यहाँ नेतृत्वको चयनका लागि मतदान हुँदैछ ।
दुईवटा प्यानल बनाएर नेताहरु चुनावी मैदानमा उत्रिएका छन् । हिजो साँझ ६ बजे उम्मेदवारको अन्तिम नामावली प्रकाशन गरिएको थियो ।
यसअघि राति नै निर्वाचन गरिने भनिएको भएपनि अन्तत अहिले विहान मात्र मतदान सुरु गरिएको निर्वाचन आयोगका प्रमुख हरि भण्डारीले बताए । राति निर्वाचन गराउँदा गलत म्यासेज जाने भएकाले अहिले गराउन लागिएको उनले बताए ।
प्रदेश अध्यक्षमा हरि रिजाल र राधाकृष्ण कँडेल चुनावी मैदानमा छन्। उनीहरूबीच सहमति हुन नसकेपछि चुनावबाट नयाँ नेतृत्व तय गर्न लागिएको हो ।
प्युठानका रिजाललाई महासचिव शंकर पोखरेल र पाल्पाका कँडेललाई उपाध्यक्ष विष्णु पौडेलको समर्थन रहेको चर्चा छ ।
बिहान पौने ९ बजेदेखि सुरु भएको मतदान दिउँसो १ बजेसम्म मात्रै हुने मुख्य निर्वाचन अधिकृत भण्डारीले बताए।
सचिवमा निर्विरोध चुनिएका दाङका लक्ष्मण आचार्य कंडेल र रिजाल दुवै प्यानलका उम्मेदवार थिए । सचिवबाहेक अध्यक्ष, उपाध्यक्ष र दुई उपसचिव तथा सदस्यका लागि निर्वाचन हुन लागेको हो ।
उपाध्यक्षमा रुपन्देहीका भोजप्रसाद श्रेष्ठ, विश्वराज बराल र बाँकेका पूजन विश्वकर्माको उम्मेदवारी परेको छ।
उपसचिव खुलामा ४ र महिलामा ३ जनाको उम्मेदवारी छ। उनीहरू उपेन्द्रलाल कामी(रुकुम पूर्व) दुर्गाप्रसाद थारू चौधरी(बाँके), पूर्ण बुढामगर(रोल्पा) र हिरा एसी (गुल्मी) हुन्।
यस्तै, महिला उपसचिवमा बाँकेकी आरती पौडेल, वसन्ती अधिकारी र बाँकेकी लीला रानामगरको उम्मेदवारी रहेको छ। नेतृत्वका लागि १००४ जना प्रतिनिधिले मतदान गर्दै छन् । मतदान दिउँसो १ बजेसम्म हुनेछ ।
५ पदाधिकारीमा १४ र २ सय सदस्यमा ३ सय ६४ जनाको उम्मेदवारी परेको छ ।