बिहिबार, कार्तिक १२ २०८३

बिहिबार, कार्तिक १२ २०८३

सिटिजन इन्सुरेन्सको आइपीओ आजदेखि खुला

शुक्रबार, भाद्र १५ २०८०

काठमाडौ। सिटिजन लाइफ इन्सुरेन्सले आज शुक्रबार भदौ १५ गतेदेखि सर्वसाधारणलाई प्रिमियम भाउमा आइपीओ बिक्री खुला गरेको छ ।

यस इन्सुरेन्सले आफ्नो जारी पुँजी ३ अर्ब ७५ करोड रुपैयाँको ३०% ले हुन आउने १ अर्ब १२ करोड ५० लाख रुपैयाँ बराबरको आइपीओ बिक्रीमा ल्याएको हो । यसले प्रतिकित्ता १४४ रुपैयाँ प्रिमियम थप गरेर २४४ रुपैयाँ दरमा १ करोड १२ लाख ५० हजार कित्ता आइपीओ सर्वसाधारणलाई निष्कासन गरेको छ ।

यसमध्ये १०% अर्थात् ११ लाख २५ हजार कित्ता सेयर वैदेशिक रोजगारीमा रहेका नेपालीलाई निष्कासन भइसकेको छ । त्यस्तै, ५% अर्थात् ५ लाख ६२ हजार ५०० कित्ता सेयर कर्मचारी र ५% (५ लाख ६२ हजार ५०० कित्ता) सेयर सामूहिक लगानी कोषका लागि सुरक्षित गरिएको छ । सर्वसाधारणले बाँकी रहेको ९० लाख कित्ता सेयरका लागि आवेदन दिन सक्नेछन् ।

सर्वसाधारण लगानीकर्ताले यसमा भदौ १९ गतेसम्म आवेदन दिन सक्नेछन् । सो अवधिमा सबै सेयर बिक्री नभएमा भदौ २९ गतेसम्म आवेदन दिन सकिने कम्पनीले जनाएको छ ।

यसमा न्यूनतम १० कित्तादेखि अधिकतम १५ लाख कित्ताका लागि आवेदन दिन पाइनेछ । लगानीकर्ताले सी–आस्वा प्राप्त बैंक तथा वित्तीय संस्था तथा मेरो सेयरमार्फत सेयर भर्न सक्नेछन् । यो आइपीओमा एनआइएमबी एस क्यापिटल बिक्री प्रबन्धक रहेको छ ।

रेटिङ एजेन्सी इक्रा नेपालले यस इन्सुरेन्सलाई ‘इक्राएनपी ट्रिपल बी इस्यूअर रेटिङ’ प्रदान गरेको छ । जसले कम्पनीको दायित्व बहन गर्ने क्षमतामा मध्यमस्तरको जोखिम रहेको जनाउँछ । इक्रा नेपालले २०८० जेठ २६ गते यो रेटिङ दिएको हो । यो रेटिङ २०८० जेठ २५ गतेसम्म बहाल रहनेछ ।