काठमाडौं । ललिता निवास जग्गा हिनामिना प्रकरणमा पूर्वप्रधानमन्त्रीद्वय माधवकुमार नेपाल र डा. बाबुराम भट्टराईसँग केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले बयान लिएको छ ।
यसअघि उक्त प्रकरणमा उनीहरुलाई सोधपुछ समेत नगरि अनुसन्धान प्रतिवेदन बुझाउने लागेको भन्दै चौतर्फी आलोचना भएको थियो ।
सर्वोच्च अदालतले मन्त्रिपरिषदको निर्णयमाथि समेत अनुसन्धान गर्न आदेश दिएपनि सीआइबीले पूर्वप्रधानमन्त्रीद्वयलाई बयान नलिइ प्रतिवेदन बुझाउन खोजेको भन्दै सरकारको विरोध समेत भएको छ । उनीहरूलाई जोगाउन गठबन्धनले सीआईबीलाई समेत दबाब र प्रभावमा पारेको भन्दै तीव्र आलोचना भएको थियो ।
यसैबीच सीआइबीले पूर्वप्रधानमन्त्रीद्वयलाई बयान लिएको छ ।
‘ललिता निवास प्रकरणमा मेरो पालाको मन्त्रिपरिषदको निर्णय सम्बन्धमा उठेका प्रश्नहरू बारे सत्यतथ्यको जानकारी मेरो सुरूदेखिको सार्वजनिक प्रतिबद्धता बमोजिम सीआईबीलाई दिएर आफ्नो कर्तव्य निर्वाह गरेको छु,’ भट्टराईले सोमबार बिहान एक ट्वीट सन्देशमार्फत् जानकारी दिएका छन् ।
सीआईबीलाई आफूले दिएको जानकारी बारे उल्लेख गर्दै डा. भट्टराईले लेखेका छन्, ‘यो मुद्दा सफल टुंगोमा पुगेर देशमा सबै तहका सबै प्रकारका भ्रष्टाचार तथा अनियमितता अन्त्य गर्न र सुशासनको प्रत्याभूति गर्न गराउन एउटा दरो प्रस्थानविन्दू बनोस् भन्ने कामना गर्दछु।’