बिहिबार, साउन १४ २०८३

बिहिबार, साउन १४ २०८३

कोशीमा सत्ता संकट : विश्वासको मत नपाए मुख्यमन्त्री थापा स्वतः पदमुक्त

सोमबार, भाद्र ४ २०८०

काठमाडौं । आज कोशी प्रदेशको प्रदेश सभा बैठक बस्दैछ ।

कोशी प्रदेशको मुख्यमन्त्री उद्धब थापाले विश्वासको मत लिनका लागि सो बैठक बस्न लागेको हो । बैठक दिउँसो १ बजे बोलाईएको छ ।
तत्कालिन सभामुखलाई राजीनामा दिलाएर पुनः मुख्यमन्त्री नियुक्त भएका थापाले आज विश्वासको मत लिन लागेका छन् । तर, विश्वासको मत लिने बैठकमा सभामुख रिक्त भए पछि सो बैठकको अध्यक्षता उपसभामुख सिर्जना दनुवारले गर्ने भनिए पनि अन्यौल बढेको सत्तारूढ दलका नेताहरुले जनाउँदै आएका छन् । उपसभामुख दनुवारले सभाको अध्यक्षता नगर्ने भए पछि सत्तारूढ दल सशंकित हुदैँ आएको छ ।

सो बैठक अघि नेकपा एमाले र राप्रपाका ८ जना सांसदले ‘बिरामी’ भन्दै बिदा लिए पछि थापाको सरकार थप संकटमा परेको छ । कोशी प्रदेश सभामा रहेका एमालेका ७ र राप्रपाका २ जना प्रदेश सभा सदस्यले हिजै बिदा लिइसकेका छन् । मुख्यमन्त्री थापाले १३ गतेसम्म विश्वासको मत नपाएमा स्वतः पदमुक्त हुने जनाईएको छ ।

उता, राप्रपाका अध्यक्ष राजेन्द्र लिङदेनले भने सरकार टिकाउनका लागि राप्रपाका कोशी प्रदेशका सांसदलाई १० करोडसम्मको अफर गरेको सार्वजनिक गरिरहेको बेला थापा नेतृत्वको सरकार पुनः संकटमा परेको हो । यसअघि सभामुखको समेत मत जोडेर मुख्यमन्त्री नियुक्त भए पछि सर्वोच्च अदालतले उनको नियुक्तीलाई मान्यता दिएको थिएन ।

९३ सदस्यीय प्रदेशसभामा सत्ता गठबन्धनमा ४७ जना सांसद छन्, जुन ट्वाक्क मात्र हो । ४७ जना सांसद पुर्याउनकै लागि सत्ता गठबन्धनका थापाले माओवादी केन्द्रबाट सभामुख बाबुराम गौतमलाई राजीनामा दिन लगाएर मुख्यमन्त्रीको दावी पेश गरेका थिए ।

९३ सदस्यीय प्रदेशसभामा गठबन्धन दल कांग्रेसका २९, माओवादीका १३, एकीकृत समाजवादीका चार र जसपाका एक गरी ४७ सांसद छन् । उपसभामुखसहित एमालेका ४० र राप्रपाका छ गरी ४६ सांसद प्रतिपक्षमा छन् ।