शनिबार, कार्तिक १४ २०८३

शनिबार, कार्तिक १४ २०८३

सुमेरुले तिनुपर्ने बचतकर्ताहरुको निक्षेप दायित्व भन्दा सुमेरुको सम्पती बढी

सबैको साथ र सहयोग भए बचतकर्ताहरुको बचत रकम फिर्ता गर्न समस्या नहुने

बिहिबार, साउन ३२ २०८०

काठमाडौं – सुमेरु सेभिङ एण्ड क्रेडिट को–अपरेटिभले सर्वसाधारण बचतकर्ताहरुले भुक्तानी गर्नुपर्ने निक्षेप दायितव भन्दा पनि पनि उक्त संस्थाको नाउँमा बिभिन्न स्थानहरुमा रहेको सम्पती धेरै देखिएको छ । यो अवस्थामा सरोकारवाला सबै निकाय, उक्त संस्थाका सञ्चालक समितीका पुर्व अध्यक्ष भरत मर्हजन, उच्च राजनीतिक नेतृत्व सबैको साथ र सहयोग भएको खण्डमा बचतकर्ताहरुको बचत रकम फिर्ता गर्न कुनै समस्या नहुने देखिएको छ ।

सहकारीका सञ्चालक समिति र बचतकर्ता समितिले १८ जेठमा जारी गरेको श्वेतपत्र अनुसार सुमेरुमा बचतकर्ताको १० अर्ब ३४ करोड बढी निक्षेप तथा दायित्व छ । बैंकको कर्जा तथा अन्य दायित्व समेत जोड्दा यो रकम ११ अर्ब ५९ करोड रुपैयाँ भन्दा बढी पुग्छ । तर यो सबै दायित्व पुरा गर्नको लागि सुमेरुको बिभिन्न क्षेत्रमा रहेको सम्पती पर्याप्त रहेको देखिएको छ । सुमेरुको नाउँमा हाल सुमेरु अस्पताल, सुमेरु सिटी अस्पताल, कृषि फार्म, हर्स राइडिङ, सुमेरु रिसोर्ट, एसियन कलेज, शंकरापुर एकेडेमी खोलिएको छ । सुमेरुका पुर्व अध्यग भरत भरत महर्जन र उनको परिवारको नाममा बिभिन्न स्थानमा भएको घर–जग्गालाई समेत जोड्दा सम्पत्तिको मूल्य झण्डै १५ अर्ब रुपैयाँ पुग्ने छ । यो अवस्थामा यदि सबैको साथ र सहयोग भएको खण्डमा बचतकर्ताहरुको बचत रकम फिर्ता गर्न कुनै समस्या नहुने र यसको लागि भरत महर्जन र उनको परिवार पनि संस्थाको नियमित सम्पर्कमा आएर सहयोग गर्ने पर्ने सुमेरु सहकारी श्रोतले जानकारी दिएको छ ।

सुमेरुको बर्तमान सञ्चालक समिति र बचतकर्ता समितिले सुमेरु सहकारीको स्रोत प्रयोग भएका सम्पत्ति बेचबिखन, कम्पनीहरूको आम्दानी तथा भाडा संकलन एवम् ऋणको ब्याज आम्दानी समेत जम्मा गरेर २०८१ असार मसान्तसम्म सबै निक्षेप फिर्ता गर्ने योजना बनाएको र सोही योजनालाई पुर्णरुपमा कार्यान्वयन गरेर बचतकर्ताहरुको बचत रकम फिर्ता गर्नको लागि पनि महर्जन सम्पर्कममा आउनु पर्छ, सहकारी श्रोतले भनेको छ । हालको अवस्थामा पनि सहकारी संस्थालाई बन्दै गराउनको लागि नेपाली काँग्रेसका केन्द्रिय सदस्य मिनकृष्ण महर्जन लगायतका केही व्यक्तिहरु खुलेर लागेको आरोप समेत सुमेरु श्रोतले लगाएको छ । यि यस्ता समुहहरुको सहकारी बन्द गराउने योजनालाई बिफल बनाउनको लागि पनि सरोकारवाला सबै निकायको साथ र सहयोग आवस्यक भएको सुमेरु सहकारीका पीडित बचतकर्ताहरुले बताएका छन् । संस्थाले केही समय अघि मात्र प्राथमिकताका आधारमा बचतकर्ताको रकम फिर्ता गर्न ३/३ महिनाको चार चरणको कार्ययोजना वर्तमान सञ्चालक समिति र बचतकर्ता समितिले सार्वजनिक गरेको छ । सबभन्दा पहिला साना बचतकर्ताको निक्षेप फिर्ता गर्ने र त्यसपछि अन्यको फिर्ता गर्दै जाने हिसाबले कार्ययोजना बनेको बचतकर्ता समितिले जनाएको छ ।

कार्ययोजनाको पहिलो चरण अर्थात् आव २०८१ को साउनदेखि असोजसम्ममा २८ करोड ६३ लाख फिर्ता गर्ने योजना छ । यस अवधिमा २५ हजार रुपैयाँसम्म बचत रहेका १७ हजार २६३ साना बचतकर्ताको निक्षेप फिर्ता गर्ने लक्ष्य छ । यही अवधिको ब्याज रकम, अति समस्याग्रस्त निक्षेपकर्तालाई दिने रकम लगायतको व्यवस्थापन गर्न धापाखेल, दमौली, चितवन तथा हेटौंडाको जग्गा बिक्री गर्ने योजना छ । सहकारीको पुल्चोक, कालीमाटी, धापाखेल तथा गट्ठाघर चार वटै शाखाबाट ऋण असुली गर्ने र ६० करोड ७५ लाख रुपैयाँ जुटाउने योजना बचतकर्ता र सञ्चालकहरूको समितिले बनाएको छ । सहकारीको धापाखेल र पुल्चोक शाखाबाट असार मसान्तसम्म १५ करोड रुपैयाँ ऋण असुलीको प्रतिबद्धता आएको थियो । तर लक्ष्य अनुसारको असुली कठिन देखिएको छ । त्यस्तै, धापाखेलको जग्गा बिक्रीबाट ३९ करोड प्राप्त हुने अपेक्षा गरेको भए पनि बैंकको ऋण मिलान गर्दा जम्मा ६ करोड रुपैयाँ मात्रै बच्ने देखिएको सञ्चालक समिति र बचतकर्ता समितिले जनाएको छ । यसबीचमा सुमेरुका बचतकर्तालाई जग्गा दिएर १ अर्ब ६५ करोड रुपैयाँको दायित्व भने मिलान भएको छ । दोस्रो चरणमा कात्तिकदेखि पुस मसान्तसम्म बचतकर्ताको निक्षेपको ब्याज भुक्तानी, १५ हजारदेखि १ लाख रुपैयाँसम्म निक्षेप राख्नेको सावाँ–ब्याज भुक्तानी लगायतको योजना छ । त्यसका लागि ५५ करोड ५० लाख रुपैयाँ आवश्यक पर्छ, जुन पहिलो त्रैमासको आम्दानीबाट बाँकी रकम, ऋण असुली गर्ने लगायत योजना बनाइएको छ । तेस्रो चरणमा एक लाखदेखि तीन लाख बचत रहेकाको बचत फिर्ता गर्ने योजना बनेको छ । सबै निक्षेपको ब्याज समेत गरेर यो अवधिमा कुल ८८ करोड २२ लाख रुपैयाँ आवश्यक पर्ने देखिएको छ, जुन नियमित ऋण असुलीका अतिरिक्त उपत्यका र बाहिर रहेका विभिन्न जग्गा बिक्री गर्ने, अस्पताल, कलेज तथा मार्टहरूबाट प्राप्त आम्दानी रकमबाट व्यवस्थापन गर्ने लक्ष्य छ । त्यसो गर्दा सो अवधिमा ९० करोड ८८ लाख रुपैयाँ आय संकलन हुने अपेक्षा गरिएको छ । चौथो चरणमा ३ लाख रुपैयाँदेखि १० लाख रुपैयाँसम्म निक्षेप भएका निक्षेपकर्ताको सावाँ–ब्याज भुक्तानी गर्ने र बाँकी सबै निक्षेपको ब्याज दिने योजना छ । त्यसका लागि २ अर्ब ८७ करोड रुपैयाँ आवश्यक पर्ने कार्ययोजनामा उल्लेख छ । संस्थाको स्रोत प्रयोग भएको ठोस सम्पत्ति बिक्री मार्फत १ अर्ब ८४ करोड स्रोत जुटाइने र बाँकी स्रोत ऋण असुली लगायतबाट जुटाइने कार्ययोजनामा उल्लेख छ । यसरी निक्षेप फिर्ता, ब्याज भुक्तानी, निक्षेपकर्तालाई जग्गा दिई निक्षेप मिलान लगायतबाट एक वर्षको अवधिमा कुल निक्षेप ७५ प्रतिशत घट्ने र २५ प्रतिशत बाँकी रहने अवस्थामा आउने कार्ययोजनामा उल्लेख छ ।

सहकारीको स्रोत प्रयोग भएको स्थिर सम्पत्तिको मूल्य ११ अर्बभन्दा माथि भए पनि त्यो संस्थापक अध्यक्ष भरत महर्जनको परिवार तथा आफन्तको नाममा रहेको श्वेतपत्रमा उल्लेख छ । त्यसमध्ये सबभन्दा धेरै सम्पत्ति धापाखेलको सुमेरु अस्पताल प्रालिको नाममा छ । सुमेरु अस्पताल भएको स्थान धापाखेलमा १५ रोपनी १३ आना २ पैसा १ दाम जग्गा छ । सो अस्पतालको जग्गा, भवन तथा उपकरणहरूको मूल्यांकन २ अर्ब ५२ करोड रुपैयाँ गरिएको छ । प्राइभेट लिमिटेड कम्पनीमा दर्ता भएको अस्पतालको अध्यक्ष भरत महर्जन स्वयम् छन् भने भतिज विकास महर्जन उपाध्यक्ष । अस्पतालको जग्गाको मूल्य एक अर्ब ५२ करोड र उपकरण लगायतको मूल्य एक अर्ब मूल्यांकन गरिएको छ । त्यस्तै, पुल्चोकको सुमेरु सिटी अस्पताल, अस्पताल रहेको भवन तथा जग्गा पनि सहकारीको स्रोतबाट नै खरिद गरेको सहकारीको दाबी छ । दुई रोपनी १३ आनामा फैलिएको जग्गाको मूल्य मात्रै ६७ करोड ५० लाख रुपैयाँ हुने दाबी गरिएको छ । सबै जग्गा सुमेरु सिटी हस्पिटलको नाममा छ । मेसिनरी, लाइसेन्स, शय्या र अन्य सामग्री तथा भौतिक संरचना समेतको मूल्यांकन गरी सुमेरु सिटी अस्पतालको कुल मूल्य ७५ करोड रुपैयाँ रहेको सहकारीको दाबी छ । बचतकर्ताको रकम फिर्ता गर्न दुईमध्ये एक अस्पताल बिक्रीको प्रक्रिया सुरु गर्नुपर्छ । ललितपुरको धापाखेलमै हर्स राइडिङ एरियामा ३१ रोपनी ४ आना २ पैसा २ दाम जग्गा व्यक्तिको नाममा खरिद गरिएको छ । कुल ५५ कित्तामा फैलिएको उक्त जग्गाको मूल्य एक अर्ब २५ करोड कायम गरिएको छ । यो जग्गा सुमेरु सामुदायिक अस्पताल, सुमेरु हाउजिङ, सुमेरु सिटी अस्पताल र भरतका भान्जा रमेश महर्जनको नाममा छ । ललितपुरको इकुडोलमा पनि सुमेरु ग्रुपभित्रका कम्पनीको लगानीमा कृषि फार्म सञ्चालन गरेको एक सय २८ रोपनी सात आना दुई पैसा जग्गा छ । त्यसमध्ये एशियन कलेजको नाममा ८ कित्तामा ३४ रोपनी ८ आना छ । बाँकी जग्गा सुमेरु ग्रुपको शंकरापुर एकेडेमी र सुमेरु ग्रुप अफ अर्गनाइजेसनको नाममा छ । जसको बजार मूल्य ९ करोड ६० लाख हुने सहकारी श्वेतपत्रमा उल्लेख छ । सातदोबाटोको सुमेरु मार्ट रहेको स्थानमा चार रोपनी सात आना जग्गा र भवनहरू छन् । यो जग्गामध्ये चार आना भरत महर्जनको नाममा छ भने बाँकी सुमेरु सिटी हस्पिटल, शंकरापुर एकेडेमी, एशियन फाउन्डेसन र सुमेरु हाउजिङ एण्ड डेभलपर्सको नाममा छ । सहकारीकै बचतबाट सुमेरु ग्रुपले ललितपुरको सातदोबाटोमा मार्ट चलाउँदै आएको छ । यहाँको घरजग्गाको मूल्य एक अर्ब १६ करोड ५० लाख हुने दाबी गरिएको छ । ललितपुरको लेलेमा हेटौंडा जोड्ने मुख्य सडकमा सुमेरु वृद्धाश्रम रहेको ४२ रोपनी १२ आना जग्गामध्ये साढे २२ रोपनी वृद्धाश्रमकै नाममा छ भने बाँकी सुमेरु एग्रोको नाममा छ । त्यसको मूल्यांकन ३४ करोड २० लाख रुपैयाँ गरिएको छ ।

सहकारीको गट्ठाघरको भवन रहेको घरजग्गा संस्थापक अध्यक्ष भरत महर्जनको नाममा छ, जसको बजार मूल्य ६ करोड रहेको सहकारीको दाबी छ । ललितपुर महानगर ३ मा रहेको इन्द्रेणी रेष्टुरेन्ट सञ्चालन भएको जग्गा महर्जनकी श्रीमती राजमाया महर्जन र उनको भाञ्जा विकास महर्जनको नाममा छ, जसको बजार मूल्य १४ करोड हुने सहकारीको दाबी छ । ललितपुर महानगरपालिका–३ मै पुल्चोक कम्प्लेक्स भवन छ । यसमा सहकारीको मुख्य कार्यालय छ । सुमेरु सेभिङ र सुमेरु सिटी हस्पिटलको नाममा रहेको सात आना जग्गामा बनेको भवनको बजार मूल्य २० करोड राखिएको छ । कालीमाटीको घरजग्गाको मूल्य १० करोड राखिएको छ भने सिनामंगलमा रहेको १ रोपनी एक आना जग्गाको कुल मूल्य १७ करोड ५० लाख छ । यो जग्गा सुमेरु सिटी हस्पिटलको नाममा छ । चोभारमा २१ रोपनी ४ आनामा सुमेरु रिसोर्ट छ । यो जग्गा भरत महर्जनका छोरा सचिन महर्जन र छोरी सरला महर्जनको नाममा छ । उक्त सम्पत्तिको बजार मूल्य २८ करोड ९० लाख रुपैयाँ हुने मूल्यांकन सहकारीले गरेको छ । सहकारीका संस्थापक अध्यक्ष भरत महर्जनकी श्रीमती राजमाया महर्जनको नाममा ललितपुरकै धापाखेलमा ३ कित्तामा २ रोपनी २ आना २ पैसा २ दाम जग्गा छ । यसको बजारमूल्य १७ करोड ३७ लाख ५० हजार हुने सहकारीको दाबी छ । उपत्यका बाहिर संस्थाका ऋणी र सहकारीको अर्ध स्वामित्वमा चितवनको देवौली, रामनगर, हेटौंडामा समेत गरी ६ बिघा १५ कट्ठा जग्गा रहेको देखिन्छ । त्यस्तै, तनहुँको दमौलीमा ६५ रोपनी जग्गा खरिद गरेको सहकारीले जनाएको छ । यी सबै जग्गाको मूल्य दुई अर्ब ८५ करोड ३० लाख रुपैयाँ रहेको श्वेतपत्रमा उल्लेख छ । सहकारीको ऋण र अर्ध स्वामित्व भएको भनिएको जग्गा सहकारीले कर्मचारीको नाममा ऋण लगानी गरेर सहकारीको सञ्चालक र व्यवस्थापकले नै किनेको स्रोतको दाबी छ ।

यसबाहेक ललितपुरकै उपत्यका भन्दा बाहिरी भागमा सुमेरु मेडिकल कलेज, सुमेरु सेभिङ र भरत महर्जनकै नाममा ८ रोपनी १५ आना जग्गा रहेको र त्यसको मूल्य १५ करोड रुपैयाँ रहेको श्वेतपत्रमा उल्लेख छ । महर्जनको नाममा नुवाकोटको बेलकोट, ललितपुरको धापाखेल र झरुवारासी भन्ने स्थानमा गरी ८ रोपनी १५ आना जग्गा छ, जसको मूल्य १० करोड ५३ लाख रुपैयाँ दाबी गरिएको छ । सबै स्थिर सम्पत्तिको बजार मूल्य ११ अर्ब ४९ करोड ५० लाख ६६ हजार ५०० रुपैयाँ रहेको सुमेरु सञ्चालक समिति र बचतकर्ताले निकालेको श्वेतपत्रमा उल्लेख छ । यो सबै सम्पत्ति महर्जन परिवार र उनको लगानी भएको कम्पनीका नाममा रहेको देखिएपनि सहकारीको स्रोतबाट लगानी भएको वर्तमान सञ्चालक समिति र बचतकर्ता समितिको निष्कर्ष रहेको छ । अब यो सम्पत्तिहरू सहकारीकरण गरी बचतकर्ताको रकम फिर्ता गर्ने सहकारीको योजना रहेको छ ।