काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको सुरक्षा व्यवस्थामा कमि कमजोरी देखिएका कारण सरकार व्यापक हेरफेर गर्ने भएको छ । विमानस्थलबाट बारम्बार सुन तस्करी हुन थालेपछि सरकारले सुरक्षा प्रबन्धनमा व्यापक हेरफेर गर्ने तयारी गरेको हो ।
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले राष्ट्रिय सुरक्षाको पहिलो ढोकाको रूपमा रहेको विमानस्थलको समग्र व्यवस्थापन र सुरक्षा व्यवस्थामा व्यापक हेरफेर ल्याउनुपर्ने अवस्था आएको बताए । विमानस्थलको सुरक्षा अवस्थाबारे कार्यदल बनाउने उनले बताए ।
बुधबार प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा आयोजित विमानस्थलको सुरक्षा प्रबन्ध र सरकारले चाल्नुपर्ने कदमबारे छलफल गर्न आयोजित बैठकलाई सम्बोधन गर्दै उनले विमानस्थलको सुरक्षा व्यवस्थामा हेरफेर गर्न कार्यदल बनाउने जानकारी दिएका छन् । ‘विमानस्थलको समग्र व्यवस्थापन र सुरक्षा प्रबन्धबारे हामीले गम्भीर समीक्षा र अध्ययन गर्ने बेला भएको छ,’ बैठकमा उनले भने, ‘छिट्टै विज्ञहरू र सरोकारवाला निकाय तथा कार्यालयका प्रतिनिधिहरू रहेको सानो कार्यदल बनाइन्छ । त्यो कार्यदललाई अध्ययनका लागि छोटो समय दिइन्छ र कार्यदलले दिएको रिपोर्टअनुसार विमानस्थलको सुरक्षा प्रबन्धमा हेरफेर ल्याउनुपर्छ ।’
विमानस्थलमा भएका विगतका कमी कमजोरी सच्याउनेतर्फ ध्यान दिन उहाँले आग्रह गर्नुभयो । त्यसका लागि सोच, संरचना, कार्यविभाजन र कार्यशैलीमा सुधार गर्नेतिर जोड गर्नुपर्ने उनको भनाइ थियो । ‘हामीले स्थितिको गम्भीर समीक्षा गरेर अगाडि कसरी बढ्ने, विगतका कमी कमजोरी कसरी सच्याउने भन्नेतिर हाम्रो ध्यान जानुपर्छ । नकारात्मक चिजलाई शिक्षाका रूपमा लिएर अगाडि बढाउनुपर्छ,’ उनले भने, ‘सोच, संरचना, कार्यविभाजन र कार्यशैलीमा सुधार गर्नेतिर जोड गर्नुपर्छ ।’
छलफलमा उपप्रधान तथा रक्षामन्त्री पूर्णबहादुर खड्काले अपराधमा नयाँ(नयाँ प्रविधि र तौरतरिकाको प्रयोग भएको भन्दै देशको समग्र सुरक्षा अवस्था र चुनौतीबारे गम्भीर अध्ययन गरी त्यसका आधारमा नयाँ सुरक्षा व्यवस्था लागू गर्नुपर्ने आवश्यकता रहेको बताएका थिए । अपराधको सञ्जाल तोड्न सरकार कठोर रूपमा उभिनुपर्ने खड्काको धारणा थियो । अर्थमन्त्री प्रकाशशरण महतले सुरक्षा व्यवस्थापन प्रभावकारी बनाउन राज्यका निकायहरूबीच अन्तरनिकाय समन्वय थप चुस्त बनाउनुपर्नेमा जोड दिँदै राज्यका सबै निकायमा दण्ड र पुरस्कारको व्यवस्था गरेर जानुपर्ने बताए ।
छलफलमा गृहसचिव दिनेश भट्टराईले त्रिभुवन विमानस्थललगायत देशभरिका विमानस्थलको अवस्था, सुरक्षा व्यवस्थापन, विमानस्थलमा कार्यरत कार्यालय र निकायहरूको कार्यजिम्मेवारी एवं वर्तमान अवस्थालगायत सुरक्षा चुनौती र सरकारले निगरानी राख्नुपर्ने विषयहरूमा आफ्नो प्रस्तुति राख्दै देशको समग्र सुरक्षा स्थिति सामान्य अवस्थामा रहेको ब्रिफिङ गरेका थिए ।
प्रधानमन्त्रीले आयोजना गरेको बैठकमा रक्षामन्त्री, गृहमन्त्री, अर्थमन्त्री, प्रधानमन्त्रीका सल्लाहकारहरू, राष्ट्रिय सुरक्षा सल्लाहकार, नेपाल सरकारका मुख्यसचिव, नेपाली सेनाका प्रधानसेनापति, राष्ट्र बैंकका गभर्नर, गृहसचिव, रक्षासचिव, प्रधानमन्त्री कार्यालयका प्रशासन सचिव, अर्थसचिव, प्रहरी महानिरीक्षक, सशस्त्र प्रहरी महानिरीक्षक, राष्ट्रिय अनुसन्धानका मुख्य अनुसन्धान निर्देशक, अध्यागमन विभाग, सम्पत्ति शुद्धीकरण अनुसन्धान विभाग, राजस्व अनुसन्धान विभाग, भन्सार विभागका महानिर्देशकहरू, नागरिक उड्डयन प्राधिकरणका प्रमुखलगायत सरोकारवाला निकाय र कार्यालयका अधिकारीहरूको उपस्थिति थियो ।
साउन २ गते विमानस्थलबाट भन्सार पास भएर आएको ६० किलो सुन राजस्व अनुसन्धान विभागले सिनामंगलबाट बरामद गरेको थियो । स्कुटरको ‘ब्रेक सु’ मा लुकाएर ल्याएको सुनको परिमाण ६० किलो ७१६ ग्राम छ । उक्त सुन प्रकरणबारे अहिले नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी)ले अनुसन्धान गरिहरेको छ । यसअघि पनि विमानस्थलबाट पटक(पटक किलोका किलो सुन तस्करी हुँदै आएको थियो ।