शनिबार, कार्तिक २१ २०८३

शनिबार, कार्तिक २१ २०८३

एमाले सचिवालय बैठक सुरु, संसदको गत्यावरोधका विषयमा पनि छलफल हुने

सोमबार, साउन २९ २०८०

काठमाडौं । पछिल्लो राजनीतिक घटना र पार्टीको आन्तरिक विविध विषयमा छलफल गर्न नेकपा (एमाले) को सचिवालय बैठक सुरु भएको छ ।

सुन तस्करीको घटनामाथि उच्चस्तरिय छानबिन समिति गठनको माग गर्दै आएको एमालेले सङ्घीय संसद्मा जारी गत्यावरोधका विषयमा पनि छलफल गर्ने जनाइएको छ ।

सो पार्टीको केन्द्रीय प्रचार तथा प्रकाशन विभागका सचिव गगन विष्टका अनुसार पार्टीको केन्द्रीय कार्यालय, च्यासलमा मध्याह्न १२:३० बजे बैठक सुरु भएको हो ।

एमालेले सुन तस्करीमा सरकारको उच्च नेतृत्व नै संलग्न रहेको आरोप लगाउँदै आएको छ ।

एमालेले सय किलो सुन तस्करीबारे उच्चस्तरीय छानविन समिति बनाउने भन्दा सरकार तर्सिने गरेको आरोप लगाएको छ ।

आइतबार एमाले मुख्यालयमा आयोजित पत्रकार सम्मेलनमा एमाले अध्यक्षसमेत रहेका पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले उच्चस्तरीय स्वतन्त्र र निष्पक्ष छानविन समितिको नाम सुन्दा सरकार तर्सिने गरेको आरोप लगाए । ‘चोरको खुट्टा काट् भन्दा उचालेजस्तै सरकार उच्चस्तरीय समितिको नाम सुन्दा तर्सन र नबनाउने भन्दै छ । हामी सदन खुलाउन तयार छौँ तर, सरकार हाम्रा कुरा सुन्न तयार छैन,’ उनले भने, ‘सुन तस्करीमा सत्ताधारी नेतृत्वको संलग्नताको पुष्टि हुन्छ । यो माग पूरा नभएसम्म हामी निरन्तर दबाब बढाउने पक्षमा छौँ ।’