काठमाडौं । नेपाली कांग्रेसको संसदीय दलको बैठक आज पनि बस्दै छ ।
गत शुक्रबारदेखि सुरु भएको बैठकमा समसमायिक राजनीतिक बिषय देखी मुख्यत सांसद सुनिल शर्माको पक्राउका बारेमा छलफल तथा समिक्षा हुने जनाइएको छ ।
कांग्रेस सम्मिलित सरकारबाट नै कांग्रेसका सांसदहरू पक्राउ पर्न थालेपछि कांग्रेसमा सरकारप्रति फरक धारणा बन्न थालेको छ ।
कांग्रेस नेताहरूमाथि छानीछानी धरपकड बढाएको भन्दै नेपाली कांग्रेसभित्र गृहमन्त्रीप्रति असन्तुष्टि बढिरहेका बेला आज अपरान्ह साढे १२ बजे बोलाइएको सो बैठक संघीय संसद भवन, तोत्से हल, नयाँ बानेश्वरमा बस्नेछ ।
पार्टीका सांसद शर्मा पक्राउ प्रकरणबारे छलफल गर्न कांग्रेसले दलको बैठक बोलाएको हो । बैठकले शर्माको पक्राउबारे आधिकारिक धारणा बनाउने छ । प्रहरीले नक्कली शैक्षिक प्रमाणपत्र प्रकरणमा शर्मालाई पक्राउ गरेर अनुसन्धान गरिरहेको छ । कांग्रेसको संसदीय दलको बैठक शुक्रबार पनि बसेको थियो ।
साथैं प्रधानमन्त्री प्रचण्डले मन्त्रिपरिषदमा मन्त्री हेरफेर गर्ने चर्चाबारे पनि कांग्रेस बैठकमा छलफल चल्ने एक नेताले बताए । मन्त्रीहरू हेरफेर गर्ने तयारी भइरहेका बेलामा कांग्रेस संसदीय दलको बैठक बस्नुलाई अर्थपूर्ण रूपमा हेरिएको छ ।
पछिल्लो समय गृहमन्त्रीको भूमिकालाई लिएर कांग्रेस भित्र मात्र होइन माओवादी केन्द्र भित्र पनि असन्तुष्टि बढेको छ । कांग्रेसका नेताहरूको यो प्रयासमा माओवादीकै केही शीर्ष नेताहरूले समेत साथ दिएका छन् । माओवादी भित्रै पनि गृहमन्त्री नारायणकाजी श्रेष्ठको विकल्पका विषय कुरा हुन थालेको एक नेताले बताए ।