शनिबार, कार्तिक २१ २०८३

शनिबार, कार्तिक २१ २०८३

ललिता निवास जग्गा प्रकरण

मेरो प्रधानमन्त्रीत्वमा भएका निर्णयको छानबिन र कारबाही होस् : डा. बाबुराम भट्टराई

सोमबार, साउन २२ २०८०

काठमाडौं । पूर्व प्रधानमन्त्री डा. बाबुराम भट्टराईले आफ्नो कार्यकालमा भएका सबै निर्णयहरूको निष्पक्ष छानबिन र कारबाही गर्न आग्रह गरेका छन् ।

सर्वोच्च अदालतले ललिता निवास प्रकरणमा सरकारको जग्गा व्यक्तिको नाममा ल्याउने प्रक्रियामा संलग्नहरुलाई अनुसन्धानको दायरामा ल्याउन आदेश दिएपछि उनले यस्तो आग्रह गरेका हुन् ।

उनले भनेका छन् ‘ललितानिवास लगायत जुनसुकै प्रकरणमा राज्यका मन्त्रीपरिषद लगायत सबै तहबाट भएका निर्णयहरू उपर निष्पक्ष छानवीन गरेर कानूनविपरित, राज्यलाई नोक्सान हुने, निजी लाभ लिने ढॅगले कार्य भएगरेको भए जतिसुकै उच्च तहको व्यक्ति भए पनि कानून अनुसार कार्वाही गरिनुपर्छ र देशमा विधिको शासन कायम गरिनुपर्छ भन्ने मेरो आजीवन मान्यता र प्रतिबद्धता रहेको छ।’ उनले भनेका छन् ।

साथै आफ्नो प्रधानमन्त्री कालमा भएका सबै निर्णयहरूको निष्पक्ष छानवीन गर्न र आवश्यक कार्वाही गर्न सरकार र सम्बन्धित निकायलाई उनले आग्रह गरेका छन् ।

ललितानिवास प्रकरणमा सर्वोच्च अदालतले दिएको निर्देशन अनुरूप छानवीन भएमा त्यसमा पूर्ण रूपले सहयोग गर्न आफ्नो प्रतिबद्धता रहेको बताउँदै उनले भनेका छन् ।

अख्तियार दुरूपयोग अनुसन्धान आयोगले गरेको छानवीनमा पनि आफूले सहर्ष सहयोग गरेको बताउँदै उनले त्यति वेलाको बयानको व्यहोरा पनि सार्वजनिक गरेका छन् ।