काठमाडौं । नेकपा माओवादी केन्द्रको केन्द्रिय समिति बैठक आज पनि जारी रहने छ ।
गत बुधवारदेखी सुरु भएको केन्द्रिय समिति बैठकमा हालसम्म झन्डै १ सय ४१ जना नेताले आ आफनो धारणा राखिसकेका छन् ।
मंसिरमा गर्ने भनिएको विधान सम्मेलन, समसामयिक राजनीतिक बिषय, पार्टी नेतृत्वको सरकारले गरेका काम कारबाहीका बारेमा मुख्य गरी बैठकमा छलफल भइरहेका छन ।
सो बैठकमा ३८५ जना केन्द्रीय समिति सदस्य, १९८ जना वैकल्पिक सदस्य, केन्द्रीय आयोगका ७५ जना र प्रदेश पदाधिकारीबाट १०० जना गरी जम्मा ७५८ सहभागी भइरहेको माओवादी केन्द्रिय कार्यालयले जनाएको छ ।
केन्द्रीय समितिमा ३५ प्रतिशत महिला
माओवादीले मातहतका समितिमा ३५ प्रतिशत महिला सहभागिता सुनिश्चित गर्ने प्रतिबद्धताअनुसार केन्द्रीय समितिमा महिला सदस्य थप गरेको छ । माओवादीले जारी केन्द्रीय समिति बैठकबाट २४ जना महिलालाई केन्द्रीय समितिमा ल्याएको छ ।
आङ्दावा शेपा, इन्दिरा अधिकारी, उमा कपाली, उर्मिला विक, गङ्गा खड्का, गीताकुमारी कँडेल चौलागार्इं, गीता शाही, छमकुमारी खनाल, दिलमाया बुढामगर, निरमाया श्रीस, निशा न्यौपाने, पार्वती थापा, भगवती चौधरी, मोतिकला चलाउने, लालकुमारी पुन, लीला शर्मा, सपना परियार, सीता दाहाल, सुशीला घिमिरे, सुशीला पौडेल, सूर्यकुमारी विक र सरु चौधरीलगायत केन्द्रीय समितिमा थपिएका छन् ।
महिलाको सङ्ख्या थपिएसँगै माओवादीको केन्द्रीय समिति चार सय नौ सदस्यीय पुगेको छ । विधानमा भएको व्यवस्थाअनुसार पार्टी कमिटीमा महिलाको सङ्ख्या ३५ प्रतिशत पुर्याउने गरी महिला केन्द्रीय सदस्य मात्र थप गरिएको पार्टी कार्यालयका सचिव डोरप्रसाद उपाध्यायले जानकारी दिए। माओवादीमा दुई सय ४ बैकल्पिक केन्द्रीय सदस्य छन् ।