शुक्रबार, कार्तिक १३ २०८३

शुक्रबार, कार्तिक १३ २०८३

क्विन्टल सुन प्रकरणको अनुसन्धान गर्न सिआइबीलाई दिने तयारी

शुक्रबार, साउन १९ २०८०

काठमाडौं । क्विन्टल सुन प्रकरणको अनुसन्धानका विषयमा प्रधानमन्त्री प्रचण्ड र गृहमन्त्री नारायणकाजी श्रेष्ठबीच खटपट भएपछि उक्त अनुसन्धान सिआइबीलाई पनि दिने तयारी भएको छ ।

एक सय सुन प्रकरणको अनुसन्धान गर्न नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो सिआइबीलाई जिम्मा लगाउनेबारे छलफल भएको हो।

बिहीबार प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’, गृहमन्त्री नारायणकाजी श्रेष्ठसहित राजस्व अनुसन्धान विभागका महानिर्देशक नवराज ढुंगाना, नेपाल प्रहरीका आइजिपी बसन्त कुँवर र सिआइबी प्रमुख एआइजी किरण बज्राचार्यसँग छलफलभएको थियो। बिहीबार साँझ प्रधानमन्त्रीलाई दबाब दिन दलबलसहित गृहमन्त्री श्रेष्ठ प्रधानमन्त्री भेट्न पुगेका थिए । उक्त भेटमा गृहमन्त्रीले राजश्वको काम निरन्तर दिनुपर्ने तर संगठित अपराध अनुसन्धानमा प्रहरीलाई सहभागी गराउनु पर्ने धारणा राखेका थिए भने प्रधानमन्त्रीले ठाडै अस्वीकार गरेको सहभागी एक सदस्यले बताए ।

प्रहरीलाई संलग्नता नगराएको विषयमा प्रधानमन्त्री र उपप्रधानमन्त्रीबीच भनाभन समेत भएको थियो । विभागको टोलीले साउन ३ गते करिब सय किलो सुन बरामद गरेपछि अनुसन्धानको जिम्मा प्रहरीलाई दिनुपर्ने पक्षमा उभिएका थिए । तर गृहमन्त्रीको सो चाहानामा प्रधानमन्त्रीले वेवास्था गरेका थिए।

राजस्व अनुसन्धान विभागले यस प्रकरणको अनुसन्धान राजस्व छलीसम्बन्धी कसुरमा गरिरहेको छ। तर चीनको हङकङ हुँदै नेपालमार्फत् भारतसम्म सुन तस्करी गरेको यो घटना राजस्व छली मात्रै नभएको प्रहरी अधिकारीहरूको दाबी छ।

क्विन्टल सुन प्रकरणको अनुसन्धानका विषयमा केन्द्रीय अनुसन्धान ब्युरो सिआइबीलाई जिम्मा दिने वा नदिने भन्ने बारे शुक्रबार साँझ वा आइतबारसम्म टुंगोमा पुग्ने उच्च स्रोतले बतयो ।
उक्त प्रकरणको अनुसन्धान राजस्व अनुसन्धान विभागले गरिरहेको छ ।