काठमाडौं – प्युठानको झिमरुक गाउँपालिका–१ कोईराले बस्ने ५३ वर्षीय लाल बहादुर रोका मगर सोही गाउँपालिका–४ काफ्लेखोलीस्थित मच्छी चौतामारे सडक छेउमा मंगलबार मृत अवस्थामा फेला परेका छन् ।
बर्दियाको बढैयाल गाउँपालिका–४ खैरेनी बस्ने ३६ वर्षीय बुद्धिराम थारु सोही गाउँपालिका–२ फुटाहास्थित नालीमा मंगलबार मृत अवस्थामा फेला परेका छन् ।
पाल्पाको रैनादेबी छहरा गाउँपालिका–५ अधेरी खोला घर भई रिब्दिकोट गाउँपालिका–७ मैनादी कटहरबारीस्थित गोठमा बस्दै आएका ५४ वर्षीय नेत्र प्रसाद पराजुली सोही गोठमा मंगलबार मृत अवस्थामा फेला परेका छन् । रौतहटको ईशनाथ नगरपालिका–५ घर भई गुजरा नगरपालिका–५ पैनिटोल बस्ने ४० वर्षीय शेष कमाल सोही ठाउँस्थित बाटो छेउमा मंगलबार मृत अवस्थामा फेला परेका छन् ।
दाङको बङ्लाचुली गाउँपालिका–७ लापे बस्ने ४१ वर्षीय राजु अधिकारी सोही ठाउँस्थित भिरबाट करिब १ किलोमिटर तल मंगलबार मृत अवस्थामा फेला परेका छन् । सोमबारदेखि कामको सिलसिलामा घोराही बजार गएका उनी सम्पर्कमा नआएपछि खोजी गर्ने क्रममा उनको शव फेला परेको हो ।
भोजपुरको साल्पासिलिछो गाउँपालिका–३ स्थित जंगलमा सोही गाउँपालिका–३ भदौरे बस्ने ४१ वर्षीया हिरा कार्की मंगलबार मृत अवस्थामा फेला परेकी छिन् । बाख्रा चराउन गएकी उनी साँझसम्म घर नफर्किए पछि खोजी गर्ने क्रममा शव फेला परेको हो ।
धनुषाको हंसपुर नगरपालिका–२ बक्चौडास्थित पोखरीको डिलमा हाल नाम, थर, वतन नखुलेका करिब ६५ वर्षीय पुरूष मंगलबार मृत अवस्थामा फेला परेका छन् । पर्साको बीरगंज महानगरपालिका–८ स्थित प्रभु अस्पतालको गेट नजिकै हाल नाम, थर, वतन नकुलेका अन्दाजी ६२ वर्षीय पुरुष मंगलबार मृत अवस्थामा फेला परेका छन । सवै घटनाका सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।