बुधबार, साउन १३ २०८३

बुधबार, साउन १३ २०८३

प्रमुख प्रशासकीय अधिकृतको अश्लील हर्कत : प्रमाण नष्ट गर्न क्वार्टरमा रङरोगन

सोमबार, साउन १५ २०८०

झापा । दमक नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत डम्बरुप्रसाद निरौलाले अश्लील हर्कतको प्रमाण नष्ट गर्न क्वार्टरमा रङरोगन गरेका छन् । उनले क्वार्टरका कोठाको भित्री भित्तामा पुरानो रङरोगन मेटाएर नयाँ रङ लगाएका हुन् ।

उनले आफ्नो सरकारी क्वार्टरमा एक महिलासँग अनैतिक कार्य गरेको भिडिओ सार्वजनिक भएको छ ।

रक्सीले मातेकी महिला निरौलाको क्वाटरभित्रैबाट टिकटक लाइभमा बसेकी थिइन् । उनले त्यहाँ आएका प्रतिक्रियाहरूको जवाफ समेत दिएकी छन् । त्यस क्रममा प्रशासकीय अधिकृत निरौलाले उनलाई स्पर्श र चुम्बन गरेको भिडिओमा देखिन्छ । उनीहरूको संवादले अन्तरंग सम्बन्धमा छन् भन्ने अनुमान गर्न सकिन्छ । उनले म हस्बेन्डसँग छु भनेको पनि सुनिन्छ । यद्यपि, उनीहरु पतिपत्नी होइनन् । सामाजिक सञ्जालमा उक्त भिडियो अहिले भाइरल नै भएको छ ।

दमक घर भएका प्रमुख प्रशासकीय अधिकृत निरौला विवाहित र सन्तानका बाबु हुन् । उनका श्रीमती र छोराछोरी काठमाडौं बस्छन् । श्रीमती पनि उपसचिव हुन् । भिडिओकी महिला भने डिभोर्सी भएको बुझिएको छ । स्रोतका अनुसार उनी स्थानीय एक व्यवसायीको पूर्व पत्न्नी हुन् ।

महिलासँग क्वार्टरमै अनैतिक गतिविधि गर्दै गरेको भिडियो बाहिरिएपछि छानबिन हुने डरले प्रमाणको रूपमा रहेको कोठाको रङ परिवर्तन गरेको आशंका गरिएको छ । भिडियो देखिएको कोठा दमक नगरपालिकाले उपलब्ध गराएको निरौलाको सरकारी क्वार्टर भएको नगरपालिकाका कर्मचारीले बताएका छन् । निरौलाले भने क्वार्टरमा नभई उक्त गतिविधि काठमाडौंको एक होटेलमा गरेको दाबी गर्दै आएका छन् ।

दमक नगरपालिकाका १५ जना कार्यपालिका सदस्यले नगरप्रमुख रामकुमार थापा घटनालाई बेवास्ता गर्दै ढाकछोप गर्न लागिपरेको आरोप लगाएका छन् । आइतबार विज्ञप्ति निकाल्दै उनीहरूले प्रमुख प्रशासकीय अधिकृत निरौलालाई हाजिरीमा रोक लगाउँदै कार्यालय प्रवेशमा समेत रोक लगाउन माग गरेका छन् ।

घटना सार्वजनिक भएपछि दमक नगरपालिकाले संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयलाई छानबिन गरी आवश्यक कारबाही गर्न पत्राचार गरेको छ ।