बुधबार, साउन १३ २०८३

बुधबार, साउन १३ २०८३

दुई ‘नन्दी भृङ्गी’को रक्षा कवजमा देउवा, केन्द्रीय समितिको होस्टे हैंसे

शुक्रबार, साउन १२ २०८०

काठमाडौं । इटालीबाट स्वदेश फर्किनासाथ प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले मन्त्रीहरूको राजीनामा यसै मागिनु नहुने तर्क पेस गरे । उनले प्रमुख प्रतिपक्षी नेकपा एमालेले उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठ र अर्थमन्त्री प्रकाशशरण महतको राजीनामा माग भएको सन्दर्भमा रक्षात्मक टिप्पणी गरेका थिए।

यता संसददेखि सडकसम्म, सय किलो सुन विमानस्थलबाट निस्किएर सिनामंगल पुगेपछिको सन्दर्भमा मन्त्रीहरुको राजीनामा माग भइरहेको थियो । तर यो भन्दा गज्जबको अर्को विषयचाहिँ कांग्रेसका नेता र सांसदले नै सभापति शेरबहादुर देउवाका खास मानिने दुई जनाको राजीनामा वा निलम्बनको माग गर्नु हो ।

केन्द्रीय समिति बैठकमा उनका ‘नन्दी भृङ्गी’ मानिने नक्कली भुटानी शरणार्थी प्रकरणका अभियुक्त बालकृष्ण खाँणको निलम्बन र  सुन प्रकरणमा अर्थमन्त्री प्रकाशशरण महतको राजीनामा मागियो । खाँणलाई निलम्बन गर्नुपर्नेसम्मको आवाज उठ्यो भने महतले स्वेच्छाले राजीनामा दिनु उचित हुने बताइएको थियो।

भर्खरै सम्पन्न कांग्रेसको केन्द्रीय समितिको लाइभ बैठकमा उनीहरुको रक्षा कवजमा देउवादेखिए भने केन्द्रीय समितिका अधिकांश सदस्यहरु उनीहरुलाई जोगाउन होस्टेमा हैंसे गरिएको देखिन्थ्यो । लाजको पसारो आफ्नै दल सरकारमा रहेको कांग्रेसका एक सांसदले राज्यले नै बालकृष्ण खाँणलाई फसाएको आरोप समेत लगाउन भ्याए । देउवा पक्षका अधिकांश सांसदले खाँणालाई पार्टीले संरक्षण गर्नुपर्ने भनाइ राखे ।

यता, अर्थमन्त्री महतका कडा आलोचकका रुपमा कांग्रेस सांसद सुनिल शर्मा अगाडि देखिएका छन् । सभापति शेरबहादुर देउवाको टाङमुनी बसेर अवसर लिएको भन्दै शर्माले सुन प्रकरणमा महतको राजीनामा मागीरहेका छन्। मिडियामा मात्र होइन, उनले सदनमा नै राजीनामा माग गरेपछि कांग्रेसभित्र खैलाबैला मच्चिएको छ।

‘अर्थमन्त्रीको मातहतमा रहेको भन्सार छलेर सुन कसरी बाहिर आयो, नैतिकताको आधारमा राजीनामा दिनुपर्छ। होइन भने उहाँको संलग्नताको प्रश्न उठ्छ’, शर्मा भन्छन्,‘विमानस्थलमा डीआईजी गृहमन्त्रीको मातहत हुन्छ, यसकारण गृहमन्त्री नारायणकाजी श्रेष्ठले पनि राजीनामा दिनुपर्छ।’

‘खाँणका सन्दर्भमा पहिला पनि कुनै नेतालाई राजीनामा नगराएका कारणले भन्न नमिल्ने भन्ने कुरा आयो। तैपनि यस विषयमा अझ ठोस निर्णय र नीति बनिसकेको छैन’, कांग्रेसका एक पदाधिकारी भन्छन्,‘महतका सवालमा भने छानबिन भइरहेको विषय भएकाले के गर्ने भन्ने निधो भएको छैन।’

त्यसो त महत आफ्नो प्रतिरक्षामा उभिन थालेका छन्। सुन प्रकरणबारे खासै नबोलेका उनले सांसद शर्मालाई कारबाही गर्नुपर्ने बताइरहेका छन्। तर, पार्टीले के निर्णय लिनेछ भन्नेचाहिँ पर्खाइको विषय बनेको छ।