शुक्रबार, कार्तिक १३ २०८३

शुक्रबार, कार्तिक १३ २०८३

चिनियाँ नागरिकको गोदाममा सुन गाल्ने ठूलो मेसिन, ६६ काटुन ‘ब्रेक शु’ बरामद

बिहिबार, साउन ११ २०८०

काठमाडौं । सय किलो सुन प्रकरणमा पक्राउ परेका चिनियाँ नागरिक जिक्वाङ लिनको काठमाडौंस्थित गोदाममा सुन गाल्ने ठूलो मेसिन फेला परेको छ।

राजस्व अनुसन्धान विभागको टोलीले बालुवाटारस्थित उनको गोदाममा छापा मार्दा सुन गाल्ने मेसिन फेला परेको हो।

राजस्व स्रोतका अनुसार उनको गोदाममा फेला परेको मेसिन राष्ट्र बैंकसँग रहेको भन्दा बढी क्षमताको छ। लिन एक वर्षदेखि नेपालमा कम्पनी खोलेर बसिरहेका छन्।

उनले यसअघि पनि तस्करीको सुन भित्र्याएको र त्यही गोदाममा गालेर बेचेको आशंका राजस्वले गरेको छ। उनको नाममा नेपालमा ल्यान्ड एण्ड ओसियन इन्टरनेशनल लजिस्टिक प्राइभेट लिमिटेड सञ्चालनमा थियो।

राजस्व विभागको टोलीले विमानस्थलबाट ट्याक्सीमा बाहिर लैजाँदै गरेको अवस्थामा ब्रेक शुभित्र लुकाइएको करिब सय किलो सुन बरामद गरेको थियो। उक्त ट्याक्सीमा लैजाँदै गरेको सामान चिनियाँको गोदाममा लैजान लागिएको बयानपछि राजस्वले गोदाममा छापा मारेको हो।

गोदामबाट थप सामान बरामद भएको थियो। तर ती सामानभित्र सुन रहे नरहेको यकिन भएको छैन।

राजश्व अनुसन्धान विभागले सोह्रखुट्टेबाट ‘ब्रेक शु’ लेखिएको ६६ वटा काटन बरामद गरेको छ।

बुधबार अपरान्ह राजस्व अनुसन्धान विभाग, सशस्त्र प्रहरी र नेपाल प्रहरीको टोलीले सोह्रखुट्टे नजिकै रहेको एक घरमा छापा मार्दा उक्त परिणाममा ‘ब्रेक शु’ फेला पारेको हो।

भेटिएको सामान राजस्व अनुसन्धान विभागले लगेको छ। ती सामान पनि यसअघि विमानस्थलबाट जफत गरिएजस्तै शंकास्पद रहेको राजस्व विभागले जानकारी दिएको छ।