शनिबार, कार्तिक २१ २०८३

शनिबार, कार्तिक २१ २०८३

कोशी प्रदेश मुख्यमन्त्रीको नियुक्ति विवाद, सर्वोच्चको पूर्ण इजलासमा सुनुवाइ सुरू

मंगलबार, साउन ९ २०८०

काठमाडौं । कोशी प्रदेशका मुख्यमन्त्री उद्धव थापाको नियुक्ति प्रक्रियाविरुद्धको मुद्दाको सुनावाइका लागि सर्वोच्चको पूर्ण इजलासमा पेसी तोकिएको छ ।

सभामुख बाबुराम गौतमको समेत मतमा उद्धव थापा मुख्यमन्त्री नियुक्त भएपछि पूर्व मुख्यमन्त्री हिक्मत कुमार कार्कीले त्यो प्रक्रियाविरुद्ध सर्वोच्चमा मुद्दा दायर गरेका थिए ।

उक्त मुद्दा न्यायाधीशत्रय ईश्वरप्रसाद खतिवडा, डा. आनन्दमोहन भट्टराई र तीलप्रसाद श्रेष्ठ रहेको पूर्ण इजलासमा सुनुवाइ भइरहेको छ ।

सोमबार न्यायाधीशहरु सुष्मलता माथेमा र तिलप्रसाद श्रेष्ठको इजलासमा जटिल कानुनी प्रश्न समावेश भएको भन्दै यो विवाद निरुपणका लागि पूर्ण इजलासमा पठाउने आदेश दिएको थियो ।

सर्वोच्च अदालतको नियमावलीको नियम २३ (ग) अनुसार संयुक्त इजलासलाई कुनै मुद्दामा जटिल कानुनी प्रश्नको निरुपण पूर्ण इजलासबाट हुन उपयुक्त छ भन्ने लागेमा पठाउन सक्ने व्यवस्था छ ।

कांग्रेस सांसद उद्धव थापा सभामुख बाबुराम गौतमसमेतको हस्ताक्षरमा बहुमत पुर्‍याएर मुख्यमन्त्री नियुक्ति गरेको विषय संविधानविपरीत भन्दै नेकपा एमाले कोशी प्रदेश संसदीय दलका नेता हिक्मत कार्कीले सर्वोच्चमा रिट दायर गरेका थिए ।

यसअघि सर्वोच्चले दीर्घकालीन असर पर्ने निर्णय नगर्न अल्पकालीन अन्तरिम आदेश दिएको थियो । असार २७ गते न्यायाधीश सपना प्रधान मल्लको एकल इजलासले मुख्यमन्त्रि नियुक्ति गर्दाका सक्कलै फाइल झिकाएको थियो ।