काठमाडौं – राष्ट्र बैंकले मौद्रिक नीतिमा केही खकुलो गरेपछि घरजग्गा कारोबारी हर्षित छन्। अर्थतन्त्र केही चलायमान हुने आशा गरिएको छ। तर, बिगतमा केही बर्षदेखि घरजग्गा कारोबारमा आएको शिथिल स्थितिले विभिन्न क्षेत्र प्रभावित बनिरहेको छ। त्यसको प्रभाव अहिलेसम्म पनि कायम रहेको छ। यस बर्ष केही आशा गरिए पनि घरजग्गा कारोबार शिथिल हुँदा धेरै क्षेत्र प्रभावित हुने स्पष्ट देखिएको छ। घरजग्गा कारोबार शिथिल हुँदा निर्माण सामग्रीदेखि लिएर सामान्य रेस्टुराँसम्मको व्यवसायमा मन्दी छाउने व्यवसायीहरू बताउँछन्। नेपालमा वाणिज्य बैंकहरूमार्फत् ४२–४३ खर्ब रुपैयाँ कर्जा प्रवाह भएको छ भने विकास बैंक तथा वित्त कम्पनीहरूमार्फत् थप साढे पाँच खर्ब कर्जा प्रवाह भएको छ। त्यसमा सहकारीहरू समेत जोड्यो भने प्रवाह भएको कुल कर्जा ५० खर्ब रुपैयाँको हाराहारीमा पुग्ने बताइन्छ।
यसको कम्तिमा पनि १० प्रतिशत कर्जा घरजग्गा कारोबारमा गएको दाबी गरिन्छ। अर्थात् एक यस खर्बमा १० खर्ब शिथिल हुन पुग्दा अर्थतन्त्र डगमगाएको जानकारहरू बताउँछन्। घरजग्गा कारोबारमा शिथिलता आउनासाथ बैंक तथा वित्तीय संस्थामा समस्या उत्पन्न हुने त यसले सोझै देखाउँछ। गत केही समययता घरजग्गा कारोबारमा शिथिलता आएसँगै एकपछि अर्का सहकारी संस्थाहरू समस्याग्रस्त बनेका थिए। अहिले पनि सहकारीका समस्या छताछुल्ल छन्। यो सबै घरजग्गा कारोबारमा आएको शिथिलताले गर्दा नै भएको उनीहरू मान्दछन्। घरजग्गा व्यवसाय खस्कँदा त्यसको असर २५० थरी उद्योगधन्दा तथा व्यवसायमा सोझो असर पर्छ। सिमेन्ट डन्डीको व्यवसाय, कफी पसलसम्म यसको असर पर्दछ।
घरजग्गा व्यवसायको क्षेत्रलाई अर्थतन्त्र मात्र होइन मानिसको आधारभूत आवश्यकतासँग समेत जोडेर सकारात्मक नीतिहरू ल्याइनु पर्ने उनको जिकिर छ। ‘कारोबार चलेमात्र सबै क्षेत्रमा खर्च गर्ने आधार हुन्छ। सबैथोक चल्दछ। यसको प्रत्यक्ष र परोक्षा असर त अहिले हामीले भागिरहेका छौं त’, एक कारोबारी भन्छन्। हुन पनि बैंकले लगानी गरेको सय खर्बमा १० खर्बको चलायमान अर्थतन्त्र बजारमा मन्द हुँदा सबै क्षेत्र प्रभावित छन्। यसैकारण पनि राजश्वमा परेको प्रभावका कारण सरकारले बजेटको दायरा बढाउन सकेको थिएन। तर यस पटक आएको मौद्रिक नीतिको खकुलो दायरा र सरकारले पनि केही सहज गरे फेरि अर्थतन्त्र चलायमान हुन सक्ने आशा गरिएको छ। यद्यपि, कार्यान्वयनपछि मात्र यसको प्रभाव देखिने बताइन्छ।