बिहिबार, साउन १४ २०८३

बिहिबार, साउन १४ २०८३

पूर्णबहादुर खड्का

‘सभापतिले नबोलाए पनि महामन्त्रीहरू भेट्न जानुपर्छ’

सोमबार, साउन ८ २०८०

काठमाडौं – उपप्रधानमन्त्री समेत रहेका नेपाली कांग्रेसका उपसभापति पूर्णबहादुर खड्काले पार्टीका महामन्त्री पद सभापति र संस्थाको सल्लाहकार पद भएको बताएका छन् । केन्द्रीय समितिमा धारणा राख्दै उनले महामन्त्रीहरू नबोलाएका बेला पनि सभापतिकोमा जानुपर्ने बताए ।

‘महामन्त्रीजीहरूले बोल्ने बेला भन्नुभयो सभापतिले बोलाएका बेलामा हामी जाने गरेका छौं । मेरो यसमा थप सुझाव छ, बोलाएका बेला मात्र होइन कि महामन्त्रीको जिम्मेवारी र पद सभापति र संस्थाका लागि कार्यकारी सल्लाहकार पद पनि हो,’ उनले भने ।

उनले टिकट बाँड्दा भएका कमजोरीको जिम्मेवारी लिने पनि बताए । उनले कर्णाली प्रदेशमा टिकट वितरणमा केही कमजोरी देखिएको बताए । ‘विधिअनुसार टिकट वितरण गरिएको छ, तैपनि कुनै कमजोरी भएको भए म संसदीय समिति सदस्य भएकोले जिम्मेवारी लिन्छु,’ उनले भने ।

उनले पार्टीमा गुट अन्त्य नहुने पनि बताए । उनले विचार समूह वा गुटलाई नर्कान नसकिने बताए । ‘पार्टीभित्र विचार समूह हुन्छ यसलाई नकारेर हुँदैन । विचार समूह हुन्छ । बीपी, गणेशमान, किसुनजीलगायतको पनि थियो । पार्टीभित्र निर्णय गर्दा अधिवेशनमा जाँदा कहिलेकाँही नीतिगत निर्णयमा जाँदा विचार समूह बन्छ । त्यसलाई व्यवस्थित गर्ने र सँगै लिएर जाने महत्वपूर्ण कुरा हो,’ उनले भने । उनले पार्टीमा गुनासो नहुने गरी काम गर्नु नै पार्टी सुधार र रुपान्तरण भएको बताए । आएका गुनासाहरू सभापतिले सभापतिको तहबाट र पदाधिकारीहरूले आफ्नो तहबाट सुधार गर्नुपर्ने धारणा राखे ।