काठमाडौं । अर्थमन्त्री डा. प्रकाशशरण महतले आफूले सूचना दिनेलाई पुरस्कारको व्यवस्था ल्याएका कारण सय किलो सुन समातिएको दावी गरेका छन् ।
सोमवार बुटवलमा नेपाल प्रेस युनियन रुपन्देहीले गरेको पत्रकार सम्मेलनमा बोल्दै आफूले आर्थिक वर्ष २०८०/०८१ मा ल्याएको सूचना दिनेलाई पुरस्कारको व्यवस्थाका कारण उक्त सुन पक्राउ परेको उनले दाबी गरेका हुन् ।
अर्थमन्त्री महतले सुन प्रकरणमा अहिले अनुसन्धान भइरहेको र गैरकानूनी काम गर्ने जो कोहीलाई पनि कारबाही हुने बताए । भन्सारमा प्रविधिको अपडेट र आधुनिक मेसिन जडान गर्नुपर्ने आवश्यकता रहेको उनले बताए ।
उनले भने, ‘मैले बजेटमा नै प्रश्ताव गरेको हो की यो भन्सारमा कतिपय कुराहरुलाई अनियमित कुरा निस्तेज गर्न पुरस्कारको व्यवस्था गरेको छु, सूचना दिनेलाई यो व्यवस्था बीचमा हटेको थियो, मलाई लाग्छ त्यसले पनि यो सूचना प्राप्त गरी पक्राउ गर्न मद्दत पुग्यो । हामी जुन यो सुन प्रकरण छ, त्यसको जरोसम्म नै पुगेर अनुसन्धान प्रक्रिया अघि बढेको छ ।’
साथै उनले चालु आर्थिक वर्षका लागि राष्ट्र बैंकले ल्याएको नयाँ मौद्रिक नीतिले अर्थतन्त्र चलायमान हुने आशय व्यक्त गरे ।
नयाँ मौद्रिक नीतिले लगानीको वातावरण सहज बनाउने उनले बताए । आईतवार सार्वजनिक मौद्रिक नीतिमा आफूले भन्दै आएको ब्याजदरमा खुकुलो पनलाई सम्बोधन गरिएको उनको भनाइ थियो । उनले ले अब निजी क्षेत्रमा लगानी सहज हुने, ब्याजदर घट्दै जाने विश्वास व्यक्त गरे ।
अर्थमन्त्री महतले वित्त नीति र मौद्रिक नीतिको एउटै लक्ष्य आर्थिक वृद्धि सुनश्चित गर्ने, मूल्यलाई एउटा तहमा राख्ने भएको पनि बताए ।
पार्टी केन्द्रिय समितिको बैठक लाइभ गरेसँगै भ्रम छर्नसक्ने गुञ्जायस नरहेको उनले जिकिर गरे । पार्टी सभापति शेरबहादुर देउवाले केन्द्रिय समितिको बैठक लाइभ गर्ने निर्णय भइ लाइभ चलिरहेको भन्दै अहिले राम्रो प्रतिक्रिया पाइरहेको अर्थमन्त्री महतले बताए ।