शनिबार, कार्तिक २१ २०८३

शनिबार, कार्तिक २१ २०८३

कसरी भाँडियो संसद खुलाउने तीन दलको सहमति ?

सोमबार, असार २५ २०८०

काठमाडौं । प्रमुख तीन दल नेपाली कांग्रेस, नेकपा एमाले र माओवादी केन्द्रका शीर्ष नेताहरूबीच बुधबारदेखि अवरुद्ध सदन खुलाउनेबारे सिंहदरबारमा आइतबार भएको सहमति एकघण्टा नभइ भाँडिन पुग्यो।

आइतबार बिहान प्रधानमन्त्री तथा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले कांग्रेस सभापति शेरबहादुर देउवा र एमाले अध्यक्ष केपी ओलीसँग गरेको छलफलमा एमालेले संसद्को अवरोध हटाउने र प्रधानमन्त्री प्रचण्डले आफ्नो अभिव्यक्तिबारे सदनमा माफी माग्दै स्पष्टीकरण दिने सहमति भएको थियो । सोही सहमतिअनुसार प्रधानमन्त्रीको आग्रहमा आइतबार १ बजेका लागि बोलाइएको बैठक सभामुख देवराज घिमिरेले ३ बजेलाई सारेका थिए । तर, सिंहदरबारमा करिब २ घण्टा भएको तीन शीर्ष नेताहरूको भेटवार्ता र छलफलको सहमतिबाट आधा घण्टा नबित्दै एमाले अध्यक्ष ओली ‘यूटर्न’ भएपछि शीर्ष नेतृत्वको सहमति भाँडिएको हो ।

छलफलपछि बाहिरिने क्रममा प्रधानमन्त्री दाहाल र कांग्रेस सभापति देउवासँग के समझदारी भयो ? भन्ने प्रश्नमा एमाले अध्यक्ष ओलीले ‘भरे देख्नुहुन्छ….’ भन्ने जवाफ दिएका थिए । छलफलपछि संसद् भवन बानेश्वर पुगेका ओलीले फेरि प्रधानमन्त्री प्रचण्डलाई फोन गरे। केहीबेर अघि भेटेका प्रधानमन्त्रीलाई फोन लगाएर प्रमुख प्रतिपक्षी दलका नेता ओलीले असार १८ को घटनाबारे असार २१ मा प्रधानमन्त्रीका प्रेस सल्लाहकार गोविन्द आचार्यले जारी गरेको विज्ञप्तिबारे चासो राखे ।

प्रधानमन्त्रीका प्रेस सल्लाहकार आचार्यले असार २१ मा जारी गरेको विज्ञप्ति ओलीले आइतबार मात्रै पढेको बताइएको छ । एमाले सांसदहरूका अनुसार बानेश्वरमा पुगेर ओलीले पूरै विज्ञप्ति पढेका थिए । त्यसअघि उनले सो विज्ञप्ति पढेका थिएनन् ।

एमालेका एक सांसदका अनुसार विज्ञप्ति पढेपछि ओलीले प्रधानमन्त्री प्रचण्डलाई टेलिफोन गरेका थिए । ती सांसदका अनुसार प्रधानमन्त्रीसँगको फोनमा अध्यक्ष ओलीले विज्ञप्तिमा एमालेप्रति गम्भीर आरोप लगाउनुभएको रहेछ, त्यो फिर्ता लिन्छु भन्नुस् भनेका थिए । ओलीको प्रश्नको जवाफमा प्रधानमन्त्रीले विज्ञप्ति आफूले नलेखेको त्यसमा आफ्नो अनभिज्ञता प्रकट गरेका थिए र सल्लाह गर्ने बताएका थिए । त्यसको जवाफमा ओलीले त्यसो हो भने संसद चल्न सक्दैन भनेका थिए । लगत्तै प्रधानमन्त्री प्रचण्डले सभामुख देवराज घिमिरेलाई बालुवाटारबाट फोन गरेर बैठक सोमबारसम्मका लागि सार्न आग्रह गरेका थिए। सोहीअनुसार सभामुखले सोमबार ३ बजेसम्मका लागि बैठक सरेको सूचना टाँस्न लगाए ।

शीर्ष नेताहरूबीच भएको भनिएको सहमतिअनुसार प्रधानमन्त्री प्रचण्डले आफ्नो विवादास्पद अभिव्यक्तिबारे स्पष्टीकरण दिने भनिएको प्रतिनिधिसभा बैठक बस्दै नबसी सोमबारका लागि सरेको छ । एक पुस्तक विमोचन कार्यक्रममा ‘आफूलाई प्रधानमन्त्री बनाउन सरदार प्रितम सिंह पटक(पटक दिल्ली गएको’ बताएपछि एमालेले प्रधानमन्त्रीको राजीनामा माग्दै संसद् अवरुद्ध गर्दै आएको छ ।

प्रधानमन्त्री प्रचण्ड र कांग्रेस सभापति देउवासँग सहमति गरेको केही घण्टा नबित्दै नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले प्रधानमन्त्री प्रचण्डले राजीनामा नदिएसम्म संसद् नखुल्ने दाहोर्‍याए। आइतबार संसद् भवन बानेश्वरबाट बाहिरिने क्रममा अध्यक्ष ओलीले राजीनामाको माग यथावत् रहेको दोहो¥याउँदै भने, ‘संसद् प्रमले बन्द बनाउनुभएको हो । हामीले होइन । उहाँले हामीमाथि गम्भीर आरोप लगाउनुभएको छ । फिर्ता लिनुभएको छैन । त्यो गम्भीर आरोप कायम राखेर सहमति हुँदैन । राजीनामाको माग कायमै छ । सहमति जुटेको छैन ।’ संसद् प्रधानमन्त्रीका कारण बन्द भएको आरोप लगाउँदै अध्यक्ष ओलीले एमालेमाथि लगाइएको गम्भीर आरोपहरू फिर्ता नभएकाले सहमत हुन नसकेको जिकिर गरे ।

सिंहदरबारमा भएको छलफलपछि कांग्रेस र माओवादी नेताहरूले एमाले राजीनामाको मागबाट पछि हटेको र प्रधानमन्त्रीले जवाफ दिएपछि संसद्को अवरोध हट्ने बताएका थिए । तर, एमाले नेताहरूले भने प्रधानमन्त्रीको स्पष्टीकरण सुन्ने र चित्तबुझ्दो जवाफ नआए फेरि संसद् अवरुद्ध हुनसक्ने बताएका थिए । एमालेका प्रमुख सचेतक पदम गिरीले प्रधानमन्त्री प्रचण्डले नै बैठक स्थगित गर्न भनेपछि बस्न नसकेको जिकिर गर्दै भने, ‘संसद्मा हामीले उठाएका कुराको चित्त बुझ्ने गरी बोल्नुभएमा मात्रै सदन चल्न दिने भनेका थियौँ । चित्त बुझ्ने गरी, जिम्मेवारीअनुसार बोल्नुभएन भने विरोध गर्ने कुरा त छँदै छ । मिटरब्याजी विधेयक एमालेका कारण अगाडि बढेन भन्ने कुरा तथा भ्रष्टाचारविरुद्ध र सुशासनका पक्षमा सरकारले चालेका कदमको विरोधमा संसद् अवरोध गरेको भन्ने कुरा लेखिएको विषयमा प्रष्ट पार्नुस् भनेर अध्यक्षले भन्नुभएको हो । यसरी अनर्गल, झुटो आरोप लगाउन पाइँदैन यसमा पनि जवाफ दिनुस् भन्यौँ ।’ ती सबै कुरामा प्रधानमन्त्रीले ‘प्रतिपक्षीको चित्त बुझ्ने गरी’ जवाफ दिनुपर्ने नत्र संसद् चल्न नदिने गिरीको भनाइ थियो ।

नेपाली कांग्रेस संसदीय दलका प्रमुख सचेतक रमेश लेखकले संसद् भवनमा पुगेपछि एमालेले बोली फेरेको टिप्पणी गर्दै भने ‘प्रधानमन्त्रीले जवाफ दिने र संसद् खुलाउने सहमति भएको थियो । सदनमा आएपछि जवाफ सुन्ने र चित्त नबुझे अवरुद्ध हुन्छ भन्ने आयो । एमालेले कुरा फेरेको रूपमा बुझ्यौँ र आजको बैठक बस्न सकेन ।’