विराटनगर । कोशी प्रदेश सरकारको नेतृत्वमा आज दावी प्रस्तुत हुँदेछ ।
कोशी सरकार निमार्णका लागि प्रदेश प्रमुखले दिएको समय सिमा आज सकिँदै गर्दा नयाँ सरकारको दाबी पेश गर्न लागेका हुन् ।
कांग्रेस–माओवादी केन्द्रसहितको गठबन्धनले सभामुखलाई समेत जोडेर सरकार गठनका लागि दाबी पेश गर्ने तयारी गरेको छ ।
नेपाली कांग्रेस तथा नेकपा माओवादी केन्द्रलगायतका दलले सभामुखलाई समेत जोडेर प्रदेश सरकारमा दाबी प्रस्तुत गर्न लागेका छन् । तर, नेकपा एमालेले भने राजनीतिक दल परित्याग गरेको घोषणा गरेका सभामुखलाई प्रदेश सरकार गठनमा जोड्न नमिल्ने भन्दै अस्वीकार गर्ने जनाएको छ ।
ओखलढुङ्गा १(२)बाट माओवादीका तर्फबाट विजयी भएका बाबुराम गौतम सभामुख भएसँगै उनले गएको पुस २८ गतेको कोशी प्रदेश सभाको बैठकमा सभामुख पदमा रहुन्जेलका लागि दलको सदस्यता त्याग गरेको घोषणा गरिसकेका छन् ।
सभामुखले दलको सदस्यता नै त्यागेको अवस्थामा कोशी प्रदेश सभामा माओवादीको १२ मात्रै सदस्य रहने संविधानविद्हरुको भनाई छ । गठबन्धनले सभामुख जस्तो व्यक्तिलाई जोडेर विवादमा ल्याउन नहुने एमालेले बताउँदै आएको छ ।
एमाले कोशी प्रदेश संसदीय दलका प्रमुख सचेतक रेवती रमण भण्डारीले सभामुख गौतमले कोशी प्रदेश सभा समक्ष गएको पुस २८ गते नै दलको सदस्यता परित्याग गरेको घोषणा गरेको बताए ।