शनिबार, कार्तिक १४ २०८३

शनिबार, कार्तिक १४ २०८३

गृहमन्त्री नारायणकाजी श्रेष्ठ

भ्रष्टाचार विरोधी अभियानलाई सरकारले अगाडि बढाएको छ

सोमबार, जेष्ठ २२ २०८०

काठमाडौं – उपप्रधानमन्त्री एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठले भ्रष्टाचार विरोधी अभियानलाई सरकारले अगाडि बढाएको बताएका छन् । गोरखा सांस्कृतिक समाजको आठौँ वार्षिक साधारणसभा एवं चौथो अधिवेशनको उद्घाटन गर्दै सरकारले भ्रष्टाचार विरोधी अभियान र सुशासनलाई प्राथमिकतामा राखेको उनले बताए ।

‘स्वार्थ, भ्रष्टाचार र व्यक्तिवादी प्रवृत्तिको विरुद्ध अभियानलाई बुलन्द पार्नका लागि लेखक, कलाकार, साहित्यकार र पत्रकारको महत्वपूर्ण भूमिका रहन्छ’, उनले भने । उपप्रधानमन्त्री श्रेष्ठले लामो सङ्घर्षपछि प्राप्त उपलब्धिलाई बचाउँदै नेपाललाई विकास र समृद्धिको बाटोमा लैजानका लागि सरकार दृढ रहेको बताए । समृद्ध मुलुक निर्माण गर्न सरकार अगाडि बढेको उनको भनाइ छ । उनले गोरखालाई नमूना जिल्ला बनाउनका लागि सबै एकजुट हुनुपर्नेमा जोड दिए । मौलिक पहिचान र संस्कृतिको रक्षामा लाग्ने कलाकारहरु अगाडि बढ्नुपर्ने उनको भनाइ थियो ।

गोरखा सांस्कृतिक समाजका अध्यक्ष सुमन पण्डितले गोरखाबाट काठमाडौँ आएर छरिएर रहेका साहित्यकार, गीतकार, सङ्गीतकार, गायक, गायिका, चित्रकार, मूर्तिकार नाट्यकर्मी, पत्रकार तथा कला संस्कृतिको क्षेत्रमा क्रियाशिल सम्पूर्णलाई गोलबन्ध गरी आठ वर्ष पहिले गोरखा सांस्कृतिक समाज स्थापना गरिएको जानकारी दिए ।

सो समाजले साधारणसभा तथा अधिवेशनका क्रममा मेल्मादेवी सङ्गीत सम्मान वरिष्ठ गायक रामचन्द्र अर्याल, शान्ति मास्के कला सम्मान वरिष्ठ कलाकार रश्मी भट्ट, युवा प्रतिभा सम्मान मरिचमान श्रेष्ठ (बल्छी ध्रुर्वे) र पत्रकार सम्मान वरिष्ठ पत्रकार राजेन्द्र बानियाँलाई प्रदान गरेको थियो । उनीहरुलाई दोसल्ला, नगद रु पाँच हजार पाँच सय ५५ र ताम्रपत्रद्वारा सम्मान गरिएको थियो ।