बिहिबार, साउन १४ २०८३

बिहिबार, साउन १४ २०८३

औंठीसमेत नलगाउने ओलीको फोटोमा सुन भिराइदिएपछि एमाले अध्यक्ष रुष्ट

बुधबार, जेष्ठ १७ २०८०

काठमाडौँ – नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले औँठीसमेत नलगाउने आफूलाई सुनैसुन लगाइदिएर ट्रोल गरिएको भन्दै असन्तुष्टी जनाएका छन् ।

एमाले मुख्यालय ललितपुर च्यासलमा कलाकारलाई पार्टी प्रवेश गराउने कार्यक्रममा उनले बदनियतपूर्ण ढंगले आफूविरुद्ध झूठो प्रचार गर्न आफ्नो फोटोमा सुन भिराइएको बताए । त्यस क्रममा उनले आफूले अहिलेसम्म औंठीसमेत नलगाएको कुरा सुनाए ।

‘सानै हुँदा आमा बित्नुभयो । यो तैंले लगा भनेर आमाले लगाउने गर्नुभएको औंठी दिएका थिए । तीनचार दिन लगाएँ, त्यो औंठीले बडो डिस्टर्ब गर्यो । औंठी लगाएपछि पटक–पटक आमा सम्झन थालें । त्यसपछि त्यो औंठी लगाइन’, उनले भने, ‘तर, अहिले बोक्न नसक्नेगरी सुन लगाएर यति साह्रो झूट फैलाए ।’

पशुपतिमा सुनको भनेर पित्तलको जलहरी हालिएको भनेर माओवादी केन्द्रका सांसद लेखनाथ दाहालले प्रतिनिधिसभा बैठकमा कुरा उठाएका थिए । ओली प्रधानमन्त्री भएका बेला सुनमा भ्रष्टाचार भएको विषय संसदमा उठेपछि एमालेले त्यसको विरोधमा सदन अवरुद्ध गरेको थियो । पछि प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड, काँग्रेस सभापति शेरबहादुर देउवा र ओली बसेर सांसद दाहालको अभिव्यक्ति खण्डन गर्ने समझदारी गरेका थिए ।

तथापि पशुपतिको जलहारीमा घोटाला भएको भन्दै आमतहमा भने व्यापक असन्तुष्टी छ । सोहिक्रममा सुनैसुनले ढाकिएको ओलीको फोटो प्रचारमा आएको हो ।