काठमाडौं । विवादास्पद नागरिकता विधेयक राष्ट्रपति रामचन्द्र पौडेलले प्रमाणीकरण गरेका छन् । बुधबार बिहान उनले विधेयक प्रमाणीकरण गरेको राष्ट्रपति कार्यालय स्रोतले जनाएको छ ।
राष्ट्रपति पौडेलले विवादास्पद नेपाल नागरिकता (पहिलो संशोधन) विधेयक २०७९ लाई प्रमाणीकरण गरेका हुन् ।
तत्कालीन राष्ट्रपति विद्यादेवी भण्डारीले संविधान विपरीत ‘होल्ड’ गरेको नागरिकता विधेयक प्रमाणीकरण गर्न सरकारले १२ जेठमा राष्ट्रपति पौडेललाई अनुरोध गरेको थियो । उक्त नागरिकता विधेयक विवास्दास्पद रहेको भन्दै तत्कालीन राष्ट्रपति भण्डारीले पुनर्विचार गर्न संसदमा पहिलो पटक फिर्ता समेत पठाएकी थिइन् । भण्डारीले देशको हितविपरितका कतिपय प्रावधान रहेको र महिलाविरोधी रहेको भन्दै सो विधेयक प्रमाणित नगरी संसदमा फिर्ता पठाएपछि पुनः संसदबाट जस्ताको तस्तै पारित भएको थियो । भण्डारी राष्ट्रपति रहन्जेल संविधान बमोजिम १५ दिनभित्र प्रमाणित नभएको विधेयक पुन संसदले पारित गर्नुपर्ने विज्ञहरुले बताइरहेका बेला राष्ट्रपतिले सरकारको अनुरोधमा प्रमाणित गरेका हुन् ।
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ आजबाट भारतको चार दिने औपचारिक भ्रमणमा जाँदैछन् ।आजै मात्र प्रचण्डले आफ्नो भारत भ्रमणबारे राष्ट्रपति रामचन्द्र पौडेललाई जानकारी गराएका थिए । बुधबार राष्ट्रपति भवन शीतल निवास पुगेर प्रधानमन्त्री प्रचण्डले बुधबारबाटै हुन लागेको आफ्नो भारत भ्रमणबारे जानकारी गराएका थिए ।
प्रधानमन्त्रीको भारत भ्रमणको दिन नागरिकता विधेयक प्रमाणीकरण हुनुलाई अर्थपूर्ण रुपमा हेरिएको छ ।
मन्त्रिपरिषद् बैठकले नै निर्णय गरेर राष्ट्रपतिलाई नागरिकता विधेयक प्रमाणीकरण गर्न आग्रह गरेको थियो ।
रेशम चौधरीको आममाफी प्रकरणपछि यो राष्ट्रपतिको अर्को विवादित कदम हो ।
सरकारको सिफारिसमा राष्ट्रपति पौडेलले टीकापुर नरसंहारमाका दोषी ठहर पूर्वसांसद रेशम चौधरीलाई आममाफी दिएपछि त्यसको चौतर्फी विरोध भइरहेको छ ।
‘प्रचण्ड’ नेतृत्वको सरकारको सिफारिसमा राष्ट्रपति पौडेलले चौधरीलाई रिहा गरिदिए पछि तिब्र सन्तुष्टि जनाउँदै बोहरा पत्नी शारदा सर्वोच्च अदालत समेत गएकी छन् ।
