बिहिबार, साउन १४ २०८३

बिहिबार, साउन १४ २०८३

काठमाडौंका ६८ स्वास्थ्य संस्थाको प्रशासन बन्द गराइदिने बालेनको चेतावनी

बुधबार, जेष्ठ १७ २०८०

काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहले ६८ स्वास्थ्य संस्थालाई कारबाही गर्न स्वास्थ्य तथा जनसंख्या मन्त्री मोहनबहादुर बस्नेतको ध्यानाकर्षण गराएका छन् ।

मन्त्रीले कारबाही सुरु नगरे आफूले नै ती स्वास्थ्य संस्थाको प्रशासन कक्ष बन्द गराइदिने चेतावनी उनले दिएका छन् ।

प्रचलित स्वास्थ्य सम्बन्धी कानुन अनुसार विपन्न एवं लक्षित वर्गहरुलाई दिनुपर्ने कुल शैयाको १० प्रतिशत छुट्याई निशुल्क उपचार गर्नुपर्ने लगायतका स्वास्थ्य सुविधाहरु उपलब्ध गराउने सम्बन्धमा यस काठमाडौँ महानगरपालिकाबाट मिति २०८०।०२।०६ गते सार्वजनिक सूचना जारी भैसकेको बताउँदै उनले मन्त्रीले ७ दिन भित्र उनीहरुलाई कानुनी दायरामा नल्याए अस्पताल प्रशासन बन्द गराउन बाध्य हुने उनले बताएका छन्।

मेयर शाहका अनुसार काठमाडौं महानगरपालिका क्षेत्र भित्र रहेका अस्पताल लगायत विभिन्न स्वास्थ्य संस्थाहरुसँग लक्षित वर्गलाई उपलब्ध गराइएको छुट सुविधाको विवरण माग गरिएको थियो । यही जेठ ६ गते सूचना जारी गरेर छुट सुविधा दिएको विवरण माग्दा समेत ६८ स्वास्थ्य संस्थाले उपलब्ध नगराएको मेयर शाहको भनाइ छ ।